नगरपालिकाद्वारा प्रहरीलाई जग्गा

Enepal Patra Pvt. Ltd. , ६९७  पटक हेरिएको

काभ्रेपलाञ्चोक, १६ माघ । बनेपा नगरपालिकाले आफ्नै नाममा रहेको दुई रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपालाई प्रदान गरेको छ ।

लामो समयदेखि जग्गा अभावका कारण कार्यालय सञ्चालनमा कठिनाइ भोग्दै आएको इप्रका बनेपालाई वडा नं ८ स्थित दक्षुटोलमा रहेको रु तीन करोडभन्दा बढी मूल्यको जग्गा नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताउनुभयो । एक हजार १७ वर्गमिटर रहेको उक्त जग्गा दानपत्रको लिखत गरी इप्रका बनेपाका नाममा हस्तान्तरण गरिएको छ ।

जग्गा उपलब्ध भएसँगै इप्रकालाई सुविधासम्पन्न भवन निर्माणको बाटो खुलेको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । “जग्गा प्राप्तिपछि प्रहरी निरीक्षक तहको दरबन्दीबाट थप गरी प्रहरी नायब उपरीक्षक रहने गरी व्यवस्थापन गर्न सजिलो भएको छ,” उहाँले भन्नुभयो । जनसङ्ख्या र भौगोलिक अवस्थाका आधारमा इप्रका बनेपालाई स्तरोन्नति गर्न जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयमा सिफारिश पठाएको छ । सम्झौतापत्रमा इप्रका बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराई र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले हस्ताक्षर गर्नुभयो । रासस

प्रकाशित मिति: २०१९-०१-३० , समय : १०:५९:१८ , ५ वर्ष अगाडि