खोटाङ हिँडेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु

ईनेपालपत्र संबाददाता , ४  पटक हेरिएको

राजकुमार भट्टराई

खोटाङ, कात्तिक १ गते । काठमाडौंबाट खोटाङतर्फ आउदैगरेको सुमो गाडी सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना महिला रहेको सुनकोसी प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत भेटिएका तीनै जनाको पहिचान खुल्न बाँकी छ । बेपत्ता रहेका तीन जनाको खोजी भइरहेको छ । बेपत्ताहरुको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। काठमाडौबाट खोटाङ आउदैगरेको को १ ज २९७६ नम्बरको सुमो गाडी सिन्धुलीको फिकल गाउँपलिका ६ स्थित सडकबाट २०० मिटर तल सुनकोसी नदीमा खसेको थियो ।

कात्तिक १ गते राति करिब साँढे २ बजेको समय खसेको गाडी कोसीमा आधा डुबेको अवस्थामा भेटिएको छ । गाडीमा चालकसहित १० जना सवार रहेका थिए । ४ जनाको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको स्थानीय राकेश पोखरेलले बताउनुभयो ।

उद्धार गरिएको घाइतेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका ३८ वर्षीया सम्झना राई, सम्झनाको छोरी १२ वर्षीया शिवानी राई, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र सुमो चालक ओखलढुंगाका आशिष बिस्ट रहेका छन । प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको बताइएको छ।

प्रकाशित मिति: २०२६-१०-१८ , समय : १२:२६:५८ , १ घन्टा अगाडि