भरतपुर र जापानको योकोसु नगरबीच भगिनी सम्बन्ध हुने

Enepal Patra Pvt. Ltd. , ८९१  पटक हेरिएको

चितवन, ८ माघ (रासस) : जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई आज भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ ।

महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यस्वरुप जापानको योकोसुका नगरको प्रतिनिधिमण्डल भरतपुर आइपुगेको हो । जापानी प्रतिनिधिमण्डललाई स्वागत गर्दै महानगरपालिका उप–प्रमुख पार्वती शाह ठकुरीले जापानको समृद्ध शहरले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न आवश्यक प्रक्रिया पूरा गरी छिट्टै योकोसु नगरलाई जानकारी दिइने बताउनुभयो ।

कार्यक्रममा जापानी प्रतिनिधिमण्डलका प्रमुख योचिमी योटिकाले योकोसु नगर भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको भन्दै अवलोकनपछि जापान गएर आवश्यक प्रक्रिया पूरा गरी छिट्टै दुई पक्षीय सम्झौता गरिने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भगिनी सम्बन्ध कायम गर्न ‘एमओयु’ तयारीका लागि आएको जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई महानगरपालिकाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सांसद कृष्णभक्त पाखरेलले जापान सरकारले नेपालको विकासमा ठूलो योगदान पु¥याएको बताउँदै भगिनी सम्बन्ध विस्तारले दुई नगरवासीबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताउनुभएको थियो । ओमिची योटुकाको नेतृत्वमा आएको सात सदस्यीय प्रतिनिधिमण्डल भरतपुर महानगरपालिकाको मुख्य पर्यटकीय केन्द्र मेघौली, पटिहानी क्षेत्रको अवलोकन गरी बुधबार काठमाडौँ फर्कनेछ ।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : २०:०२:१३ , ५ वर्ष अगाडि