३ वर्षमा ईन्धन आयात दोब्बर

Enepal Patra Pvt. Ltd. , ४९९  पटक हेरिएको

विराटनगर सम्वाददाता ।
बिराटनगर,१ पुस । प्रदेश नं. १ मा ३ वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयात दोब्बरले वृद्धि भएको छ ।
विराटनगरस्थित ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालयका अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा २१ अर्व ४१ करोड ६ लाख १४ हजार ७७२ रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । ३ वर्ष पछि आर्थिक वर्ष २०७५÷०७६ मा ४१ अर्व ५२ करोड ७४ लाख ६१ हजार ९६३ रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । साविकका पूर्वाञ्चलमा पर्ने सप्तरी र सिराहा जिल्ला हाल प्रदेश नं. २ मा रहेकोले ति जिल्लाका भन्सार कार्यालयबाट आयात हुन पेट्रोलियम पदार्थका अभिलेख २०७५÷०७६ देखि विराटनगरस्थित कार्यालयले राख्न छोडेको छ ।
३ वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयात २० अर्व ११ करोड ६५ लाख४७ हजार १८४ रुपियाँले बढी छ । यो झण्डै दोब्बर हो । साविकका २ जिल्लाबाट भएको आयात यही समावेश गर्ने हो भने दोब्बर भन्दा बढी हुने कार्यालयका सुचना संयोजक देवराज न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार ३ वर्ष अघि मट्टितेल १६ करोड ८७ लाख ८१ हजार ४०५ रुपियाँको ३ हजार ९०४ किलो लिटर आयात भएको छ । गत आवमा मट्टितेलको आयात ४ हजार ३८६ किलोलिटर पुगेको छ । यसको मूल्य ३० करोड ६१ लाख ५९ हजार २४६ रुपियाँ हुन आउँछ ।
यस्तै खाना पकाउने ग्यासको आयात ३ वर्षका अवधिमा ३२ करोड ६७ लाख ३ हजार ७९२ किलो वृद्धि भएको छ । ३ वर्ष अघि २ अर्व ५१ करोड ७९ लाख २९ हजार २६४ रुपियाँको ३ करोड ८३ लाख ८ हजार ४२५ किलो ग्यास आयात भएको थियो । गत आर्थिक वर्षमा ५ अर्व ८३ करोड ८७ लाख १२ हजार ५३७ रुपियाँको ७ करोड ९ लाख ८२ हजार २१७ किलो ग्यास आयात भएको छ । खाना पकाउने ग्यासको आयात परिमाणका आधारमा दोब्बर नपुगे पनि मूल्यका आधारमा दोब्बर भन्दा बढी आयात भएको छ ।
यसैगरी डिजेलको आयात पनि झण्डै दोब्बरले वृद्धि भएको छ । ३ वर्ष अघि ८ अर्व,११ करोड४७ लाख ९९ हजार ६२ रुपियाँको १ लाख ८६ हजार ५५० किलो लिटर डिजेल आयात भएको थियो । गत आवमा २० अर्व १४ करोड,७४ लाख ९६ हजार २४१ रुपियाँको २ लाख ९१ हजार २३३ किलो लिटर डिजेल आयात भएको छ । पेट्रोलको आयात समेत वृद्धि भएको छ । पेट्रोलको आयात तुलनात्मक रुपमा अरु इन्धनको भन्दा बढी देखिएको छ । ३ वर्ष अघि ५४ हजार ९८१ किलो लिटर पेट्रोल आयात भएकोमा गत आर्थिक वर्षमा १ लाख २ हजार १५८ किलो लिटर पेट्रोल आयात भएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा ६ अर्व ४१ करोड ८७ लाख ३३ हजार ४३८ रुपियाँको पेट्रोल मात्र आयात भएको छ । ३ वर्ष अघि ५ अर्व २२ करोड ४२ लाख ८ हजार ३१६ रुपियाँको पेट्रोल आयात भएको छ ।
पछिल्लो ३ वर्षमा हवाई इन्धनको आयात पनि ह्वात्तै बढेको छ । आर्थिक वर्ष ०७२÷०७३ मा ४ हजार ७ सय किलो लिटर हवाई इन्धन आयात भएको पूर्वाञ्चलमा गत आर्थिक वर्षमा ७ हजार १ सय किलो लिटर हवाई इन्धन आयात भएको छ । हवाई इन्धनको आयात परिमाणमा दोब्बर नभए पनि मूल्यमा दोब्बर भन्दा बढी आयात भएको छ । ३ वर्ष अघि १९ करोड ६६ लाख ८५ हजार ६४३ रुपियाँको हवाई इन्धन आयात भएकोमा गत आर्थिक वर्षमा ४८ करोड ९८ लाख ९७ हजार २९७ रुपियाँ बरावरको हवाई इन्धन आयात भएको छ ।
मुलुकमा विद्युत उत्पादन बढेको भएपनि त्यसको प्रयोगबाट सञ्चालन हुने सवारी साधन र अन्य सामग्रीको आयात र उत्पादनमा सरकारले ध्यान नदिँदा आयातको आधा भन्दा बढी रकम इन्धन आयातमा खर्च भएको देखिएको छ ।

प्रकाशित मिति: २०१९-१२-१७ , समय : ११:४४:०६ , ४ वर्ष अगाडि