ईनेपालपत्र संबाददाता , ३७ पटक हेरिएको
मोरङ , ११ अशाेज। वैदेशिक रोजगारीमा जान आवश्यक श्रम स्वीकृतिको प्रक्रिया सुरु गर्न प्रयोग हुने अनलाइन प्रणालीमा समस्या देखिएको छ। वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत नयाँ आईडी बनाउन आवश्यक ओटीपी (वन टाइम पासवर्ड) एक सातादेखि प्राप्त नहुँदा सेवाग्राही समस्यामा परेका छन्। तर, ओटीपी किन आइरहेको छैन भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
नयाँ कामदारका रूपमा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले वैदेशिक रोजगार विभागको FEIMS अनलाइन प्रणाली मार्फत आफ्नो आईडी बनाउनुपर्छ। आईडी बनाउन दर्ता गरिएको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुन आवश्यक हुन्छ। तर, एक सातादेखि ओटीपी नआउँदा सेवाग्राहीले अनलाइन दर्ता प्रक्रिया पूरा गर्न सकेका छैनन्। यसले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिलाई थप अन्योलमा पारेको छ।
ओटीपी नआउनुको कारण प्रणालीमा आएको प्राविधिक समस्या हो, मोबाइल सेवा प्रदायकसँग सम्बन्धित समस्या हो वा अन्य कुनै कारणले यस्तो भएको हो भन्नेबारे यकिन हुन सकेको छैन। सम्बन्धित निकायले समस्याको कारण सार्वजनिक नगर्दा सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
सेवाग्राही जीवन राईले वैदेशिक रोजगारीको प्रक्रियामा विगतदेखि नै विभिन्न किसिमका सेटिङ हुने गरेको चर्चा चलिरहेका बेला ओटीपी नआउने समस्यालाई पनि शङ्काको दृष्टिले हेरेका छन्। उनले यो समस्या सामान्य प्राविधिक अवरोध हो वा यसमा अन्य कुनै कारण छ भन्ने विषयमा आशङ्का व्यक्त गरेका छन्। यद्यपि, यसमा कुनै किसिमको सेटिङ वा अनियमितता रहेको पुष्टि भएको छैन।
ओटीपी नआउनुको कारण बुझ्न सम्बन्धित निकायसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन। एक सातादेखि देखिएको समस्याको वास्तविक कारणबारे स्पष्ट जानकारी नआउँदा सेवाग्राही अन्योलमा छन्। सम्बन्धित निकायले समस्याको कारण पहिचान गरी सार्वजनिक गर्नुका साथै अनलाइन सेवा तत्काल सहज बनाउन आवश्यक देखिएको छ।
प्रकाशित मिति: २०२६-१०-२८ , समय : १०:३९:५८ , २ घन्टा अगाडि