फुसको छानो हटाउने अभियान सुरु

Enepal Patra Pvt. Ltd. , १६१५  पटक हेरिएको

प्रशान्त निरौला
लेटाङ १८ माघ । लेटाङ नगरपालिकाले फुसको छानो हटाउने अभियान अन्तर्गत पहिलो चरणमा जस्तापाता वितरण गरेको छ ।
आज नगरपालिकाको सभाहलमा ७० जना विपन्न परिवारहरुलाई फुसको छानो वितरण गरिएको हो । मेरो सुविधा कटाईदेउ , फुसको छानो हटाईदेउ भन्ने नारा लिएर १ वर्ष अघि नगरपालिकाका प्रमुख शंकर राईले आफुले सुविधाका लागि छुट्याईएको ६८ लाख रकम फुसको छानो हटाउन खर्च गर्ने निर्णय गरे संगै यो अभियानले चर्चा पाएको थियो ।
७० परिवारलाई पहिलो चरणमा जस्तापाता वितरण गरिएको नगर प्रमुख शंकर राईले जानकारी दिनुभयो । प्रतिपरिवार साढे ३ वन्डल जस्तापाता वितरण गरिएको उक्त परिमाणको जस्तापातालाई ३५ हजार रुपैया पर्ने वताईएको छ । आज मात्र २४ लाख ५० हजार वरावरको जस्तापाता वितरण गरिएको जिन्सी शाखाका प्रमुख हेमचन्द्र निरौलाले जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाका सवै वडामा जम्मा ४२५ जना फुसको छानो भएका घरपरिवार रहेको तथ्याङक नगरपालिकामा आएको छ भने यो अन्तिम नतिजा नभएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।
४२५ घर परिवारलाई जस्तापाता वितरण गर्दा करिव १ करोड ४८ लाख खर्च आवश्यक पर्ने र उक्त रकम नगरपालिकाले क्रमागत रुपमा विनियोजन गरेर २ वर्ष भित्रमा फुसको छानो हटाईसक्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०१९-०२-०१ , समय : १५:५७:०० , ५ वर्ष अगाडि