तीन स्थानीय तहबीच सहकार्य

Enepal Patra Pvt. Ltd. , ८६३  पटक हेरिएको

बनियानी, १५ माघ । झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि बढाएका हुन् ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले तीनै गाउँपालिकाको सिमाना जोडिएकाले साझेदारीमा काम गर्न सो अवधारणा ल्याइएको बताउनुभयो । “गाउँपालिकाको आयस्रोत न्यून छ । एक्लैले गर्नुभन्दा मिलेर विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो । तीनवटै गाउँपालिकाको सहकार्यमा उपकरण खरीद, सीमा विवाद समाधान, करमा एकरुपता, ऐन–कानून निर्माणलगायत काम गर्ने योजना छ ।

“धेरै स्थानीय तहमा सीमा विवाद छ, कर पनि फरक फरक पाइयो”, लिङ्देनले भन्नुभयो, “हरेक क्षेत्रमा समानता ल्याउने हाम्रो सोच हो ।” तीनै तहमा वनजङ्गल संरक्षण, पर्यापर्यटनको विकास र विभिन्न योजनाको गुरुयोजना तयार गर्न सहकार्य आवश्यक रहेको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउनुहुन्छ । कम लागतमा नागरिकलाई बढी सुविधा दिन सकिन्छ । बाह्रदशी गाउँपालकाका अध्यक्ष खड्ग राजवंशीले कार्यविधि निर्माणपछि कार्यदल बनाइने जानकारी दिनुभयो । स्थानीय तह पुनः संरचनापछि पाँच वडा रहेको हल्दिबारीको जनसङ्ख्या २९ हजार, सात वडा रहेको कचनकवलको जनसङ्ख्या २९ हजार तथा सात वडा रहेको बाह्रदशी गाउँपालिकाको जनसङ्ख्या ३३ हजार रहेको छ । रासस

प्रकाशित मिति: २०१९-०१-२९ , समय : ११:३८:१७ , ५ वर्ष अगाडि