चर्चामा प्रदेश नम्बर १ र ५ को राजधानी

Enepal Patra Pvt. Ltd. , ७७३  पटक हेरिएको

दमक, पुस २९ गते ।  लामो समयदेखि प्रदेश नं. १ को नामकरण हुन नसकेको अवस्थामा पछिल्लो समयमा प्रदेश नं. ३ ले बाग्मती प्रदेशको नामकरण गरेपछि यहाँ पनि बहस शुरु भएको छ । सगरमाथा र कोशीको बिषयमा आन्तरिक रुपमा बहस चल्दै आएको नेकपाका एक प्रदेश नेताले बताउनु भएको छ । सगरमाथाको पहिचान विश्वब्यापी रहेको र नेपालको नै गौरव रहेकाले प्रदेशसंग यसलाइ नगाँस्ने र कोशी प्रदेश नाममा सहमति हुनसक्ने ती नेताले जनाउनु भयो ।

झापामा एकको एक विद्वत सभामा प्राज्ञ तथा इतिहासविद डा. जगमान गुरुङले कोशी नदीको नाममात्र नभएर यस क्षेत्रको सभ्यता भएको भन्दै प्रदेशको नामकरण गर्दा कोशी राख्दा यहाँका आदिबासी जनजातीको शिर ठाडो हुने बताउनु भएको थियो । कोशी खोलाको मात्र नाम होइन ईतिहास हेर्ने हो भने यो अहिले आदिबासी तथा जनजातीले उठाउदै आएको पहिचानयुक्त सर्वसम्मत नाम हो, उहाँको भनाइ थियो । सगरमाथा, कोशी, कञ्चनजङ्घा, मेची, किरात, लिम्बुवान, पुर्वी प्रदेश लगायतका नामहरुको बिषयमा बहस हुँदै आएको छ । कर्णाली र बाग्मती यहाँका प्राचिन नदीहरुको नाममा प्रदेश नामकरण भएपछि प्रदेश नं. १ को कोशी प्रदेश नामकरणका लागि बलियो सम्भावाना बढेको पाईन्छ । नेकपाले अनौपचारिक छलफलहरुमा यस बिषयमा सहमति नजिक पुग्न लागेको श्रोतको भनाइ रहेको छ ।

२०७४ फागुन २ गते प्रदेश ६ ले सर्वसम्मत रूपमा आफ्नो प्रदेशको नाम ‘कर्णाली’ राखेको थियो । यसपछि प्रदेश ४ ले २०७५ साल असार २३ आफ्नो नाम गण्डकी प्रदेश राखेको थियो । दुइवटै प्रदेशको नामकरण यहाँका प्राचिन नदीहरुबाट भएकाले प्रदेश नं. १ को नामकरण पनि यसको प्रभावबाट मुक्त नहुने अड्कलबाजि शुरु भएको छ ।

संविधानको धारा २८८ को उपधारा २ ले ‘प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भन्ने उल्लेख भएकाले नेकपाले नामको बिषयमा जे सहमति जुटाउछ त्यहि नै हुने प्रवल सम्भावाना रहेको छ । नेकपाका एक प्रदेश सदस्यका अनुसार पार्टीभित्र अनौपचारिक रुपमा कुराकानी भएपनि औपचारिक रुपमा नामको बिषयमा छलफल हुन सकेको छैन ।

सरकारको तयारी

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीका अनुसार माघको तेश्रो सातादेखि शुरु हुने प्रदेशको संसद अधिवेसनले नामको टुंगो लगाउने तयारी भएको छ । शुरुमा नै टेवल गर्ने की अन्तिम समयमा गर्ने भन्ने अन्योल रहेको छ । हामी सकेसम्म सबैको सहमतिमा नै नामको बिषयमा निर्णयहोस भन्ने चाहान्छौ र यहि कारणले गर्दा केहि ढिला भएको हो, कार्कीले भन्नुभयो । नेकपाका नेता समेत रहनु भएका मन्त्रि कार्कीले कोशी प्रदेश नामकरणको बिषयमा पार्टी भित्र आन्तरिक रुपमा छलफल र सहमति भएको भन्ने बारेमा भने उहाँले केहि बताउन चाहानु भएन । सकेसम्म यो बिषय यहि माघ महिनाभित्रमा टुंगो लाग्ने छ र सर्वस्वीकार्य नाम नै आउनेछ, उहाँले भन्नुभयो ।

यसैबीच राससका अनुसार प्रदेश नं ५ को राजधानीको चर्चा चुलिएको छ । प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको छ ।

प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश नं ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । आगामी माघ ५ गतेदेखि शुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

“लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वभाविक हो”, आज बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भन्नुभयो, “प्रदेशसभाको पाँचाँै अधिवेशनबाट यसको छिनोफानो हुन्छ ।” प्रदेशसभाबाट गठित राजधानी विशेष समितिले प्रतिवेदन बुझाइसकेका कारण अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उहाँले बताउनुभयो । प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालले बताउनुभयो । “अहिले राजधानी तय गर्दा हाम्रा सन्ततिले पनि हामीप्रति गर्व गर्ने किसिमले निर्णय गर्नुपर्छ”, उहाँले भन्नुभयो । राजधानीका विषयमा पार्टीमा छलफल भए पनि ह्वीप भने नलाग्ने प्रमुख सचेतक ढकालले स्पष्ट पार्नुभयो ।

उहाँले दलभित्रको एकता मात्र नभई प्रदेशसभाभित्रको एकताका लागि राजधानी र नामाकरणको टुङ्गो लाग्न ढिलाइ भएका कारण अब प्रदेशसभाबाट एकताकै आधारमा तय हुने बताउनुभयो । राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ । समितले प्रतिबेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली काँग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताउनुभयो । स्थायी राजधानी र नामाकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

अब नयाँ ठाउँमा राजधानी बनाउँदा प्रदेशले आर्थिकभार थेग्न नसक्ने भएकाले अस्थायी मुकामलाई नै स्थायी बनाउन राम्रो हुने उहाँको सुझाव छ । “राजधानी तोक्न धेरै ढिलो हँुदा जनतामाझ जान लाज भएको छ, अबको बैठकबाटै यसको टुङ्गो लगाउनुपर्छ”, उहाँले भन्नुभयो । लुम्बिनी नामाकरणका विषयमा भने विवाद नभएको उहाँले स्पष्ट पार्नुभयो । प्रदेशको राजधानी रुपन्देही र नामाकरण लुम्बिनी नै राख्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीको सुझाव छ । गौतम बुद्धको पवित्र भूमि भएका कारण यही ठाउँमै राजधानी राख्नुपर्ने समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेको तर्क छ । प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त रहेकाले अन्य ठाउँबारे बहस गर्नु नै आवश्यक नभएको सचेतक पाण्डेको भनाइ छ । प्रदेशसभाका ८७ सदस्यले राजधानी र नामकरण गर्नेछन् ।

प्रकाशित मिति: २०२०-०१-१४ , समय : २०:०८:४० , ४ वर्ष अगाडि