म्यानमारमा भ्रमण वर्षको प्रचार

Enepal Patra Pvt. Ltd. , ६४३  पटक हेरिएको

काठमाडौँ, २२  पुस  । म्यानमारको राजधानी याङ्गुनमा नेपाल भ्रमण वर्ष, २०२० को प्रचारप्रसार गरिएको छ । याङ्गुनस्थित सबैभन्दा प्रसिद्ध धार्मिक स्थल स्वेडागन प्यागोडामा दीप प्रज्ज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको हो ।

म्यानमारका लागि नेपाली राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेँले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी प्रचारप्रसार गर्नुभएको थियो । उक्त कार्यक्रमा नेपाली मूलका बर्मेली र नेपालबाट म्यानमार आएर काम गरिरहेकाको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाली दूतावासले नेपाल भ्रमण वर्ष २०२० लेखिएको टिसर्ट वितरण गरेको थियो ।

दीप प्रज्ज्वलनअघि राजदूत उदासले म्यानमार र नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष र नेपाल भ्रमण वर्ष २०२० एकै साल परेकाले यो वर्षभर नै म्यानमारमा विभिन्न कार्यक्रम गरी नेपालको प्रचारप्रसार गरिने जानकारी दिनुभयो ।

उहाँले भगवान् गौतम बुद्धको कपाल भएको स्वेडागन प्यागोडाबाट अङ्ग्रेजी नयाँ वर्षको दिन भ्रमण वर्षको प्रचारप्रसार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । भगवान् बुद्धको दर्शन गर्न पुगेका बर्माका दुई जना व्यापारीलाई बुद्धले उपहारस्वरूप दिएको आफ्ना आठवटा कपालका रौँ स्वेडागन प्यागोडामा राखिएको विश्वास बर्मेलीले गर्छन् ।

कार्यक्रममा याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेँले नेपाली मूलका गोरखा सैनिकले बर्माको एकीकरणमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जानु हरेक बौद्धमार्गीको सपना हुने भन्दै धेरैभन्दा धेरै म्यानमारीलाई नेपाल पठाउन सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०१-०७ , समय : १२:१९:३३ , ४ वर्ष अगाडि