ईनेपालपत्र संबाददाता , ३ पटक हेरिएको
काठमाडौं, २७ असोज। दसैँका लागि काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्राको आपूर्ति प्रभावित हुँदा मासुको मूल्य बढेको छ। बाढीपहिरोका कारण सडक अवरुद्ध भई ढुवानीमा समस्या भएपछि बजारको मागअनुसार पशु भित्रिन नसक्ने व्यवसायीले बताएका छन्। गत वर्ष प्रतिकेजी ६०० देखि ६५० रुपैयाँमा बिक्री भएको जिउँदो खसीको मूल्य यस वर्ष बढेर ८०० देखि ८५० रुपैयाँ पुगेको छ। च्याङ्ग्राको मूल्य पनि बढेर प्रतिकेजी १ हजार ३५० रुपैयाँ पुगेको छ।
दसैँमा उपत्यकामा मासुका लागि खपत हुने पशुपन्छीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सरकारले विभिन्न १० मुख्य स्थान तथा बजारमा खसीबोका, च्याङ्ग्रा र राँगाभैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको छ। बिरामी तथा अस्वस्थ पशु बजारमा बिक्री हुन नदिन पशु बिक्रीस्थलमै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पशुसेवा विभागले जनाएको छ।
पशुसेवा विभाग, जिल्ला पशुसेवा कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहितको टोलीले आइतबारदेखि स्वास्थ्य परीक्षण थालेको हो। पशुसेवा विभागका पशु चिकित्सक हरिसिंह भाटका अनुसार उपत्यकामा पशु भित्रिने विभिन्न नाकामा परीक्षण गरेर मात्र स्वस्थ पशु बिक्रीका लागि पठाउने व्यवस्था गरिएको छ। खानयोग्य खसीबोकाको कानमा हरियो रङ र अस्वस्थ पशुको कानमा रातो रङ लगाइने गरिएको छ। उपभोक्तालाई खसीबोका खरिद गर्दा हरियो रङको चिह्न भए–नभएको यकिन गर्न विभागले आग्रह गरेको छ।
विभागका अनुसार कलङ्की खसीबजार, धापाखेल तथा चापागाउँ खसीबजार, टुकुचा खसीबजार र खाद्य कम्पनी थापाथलीलगायत स्थानमा स्वास्थ्य परीक्षण भइरहेको छ। त्यसैगरी टोखा, कपन, सुकेधारा, लोकन्थली, सल्लाघारी च्याङ्ग्राबजार, चोभार, चाल्नाखेल, चन्द्रागिरि, बालाजु बाइपास तथा बल्खु–कालीमाटी क्षेत्रलगायत बजारमा पनि परीक्षण टोली परिचालन गरिएको छ। बिहान ७ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म परीक्षण गरिने विभागले जनाएको छ। आइतबार मात्रै उपत्यकामा दुई हजार पाँच सय खसीबोका तथा च्याङ्ग्रा भित्रिएको विभागको भनाइ छ।
चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार घटस्थापनादेखि नै उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्रिन थालेका छन्। तर, लगातारको वर्षा र बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा ढुवानीमा कठिनाइ भएको छ। यसले बजारको मागअनुसार पशु आपूर्ति गर्न समस्या हुने र मूल्य थप प्रभावित हुन सक्ने व्यवसायीको अनुमान छ।
सङ्घका अनुसार गत वर्ष प्रतिकेजी एक हजार एक सयदेखि एक हजार दुई सय रुपैयाँमा बिक्री भएको च्याङ्ग्राको मूल्य यस वर्ष बढेर एक हजार ३५० रुपैयाँ पुगेको छ। यसपालि खसीबोका र च्याङ्ग्राको मूल्य प्रतिकेजी दुई सय रुपैयाँसम्म बढेको व्यवसायीको भनाइ छ। आपूर्ति कम हुँदा मूल्य बढ्ने र मूल्यवृद्धिका कारण उपभोक्ताले कम खरिद गर्न सक्ने उनीहरूको अनुमान छ।
विगतका वर्षमा दसैँका बेला काठमाडौं उपत्यकामा ५० हजारदेखि ५५ हजारसम्म खसीबोका खपत हुने गरेको थियो। यस वर्ष भने करिब ४० हजार खसीबोका मात्र भित्रिने अनुमान गरिएको छ। त्यस्तै, तीन हजारदेखि चार हजारसम्म च्याङ्ग्रा खपत हुने अनुमान छ। गत वर्ष दसैँमा ३५ हजार ८४८ पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ। यस वर्ष पनि घटस्थापनादेखि नवमीसम्म स्वास्थ्य परीक्षण टोली परिचालन गरिनेछ। उपभोक्ताले स्वस्थ पशु पहिचान गरेर खरिद गर्नुपर्ने र व्यवसायीले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने विभागले जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-१३ , समय : ०८:१५:०९ , १ घन्टा अगाडि