कानेपोखरी गाउँपालिकाले अति विपन्न ३० परिवारलाई सुरक्षित आवासमा सार्ने

hari , ४३७  पटक हेरिएको

३० वटा घर बन्न लागेको कानेपोखरी –३ राजगञ्जको ऋषिदेव बस्ती

हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ)१३ फागुन । मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न ऋषिदेव समूदायका ३० परिवारलाई उनीहरू बसेकै स्थानमा नयाँ घर बनाइदिने भएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पालिकाले वडा नं.३ को राजगञ्जका अति विपन्न ऋषिदेव(मुसहर) समूदायको घर निर्माण गरिदिन लागेको हो । घर निर्माण गर्न हेल्भीटास नेपाल र सहारा नेपालले साझेदारी गर्ने भएका छन् । गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले भन्नुभयो – ‘२ लाख २१ हजार ८ सय रुपियाँ गाउँपालिकाले ब्योहोर्ने छ । सहारा नेपाल र हेल्भीटासले २ लाख रुपियाँ साझेदारी गर्ने भएका छन् भने घरधनीले ८० हजार रुपियाँ बराबरको श्रमदान गनुृपर्ने छ । जम्मा ५ लाख १ हजार ८ सय रुपियाँमा तयार गरिने घरमा ११/११ का दुईवटा कोठा, एउटा भान्साघर र बाहिर पट्टि बरण्डा रहनेछ । घर छेउमा सुरक्षित शौचालय र सामूहिक रुपमा खानेपानीका लागि चापाकल ब्यवस्था गरिनेछ ।
पालिकाले अघिल्लोे ५ वर्षमा पनि ३७ वटा घर निर्माण अति विपन्नलाई सुरक्षित आवासमा सारेको थियो ।
कानेपोखरी ३ राजगञ्जका ३० वर्षीय लल्कु ऋषिदेवको नागरिकता छैन् । नागरिकता बनाउने उमेरमा भारतमा कृषि मजदुरी गर्न जानु भएका लल्कुलाई उहाँका बडाबाबु(बाबुका दाजु)को नागरिकता राखेर पालिकाले घर बनाइदिन लागेको छ । ऋषिदेवहरू ४० को दशकसम्म माटो पुर्ने, खाडी खन्ने , खेतीपाती गर्ने काम गर्थे । कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै उनीहरूको रोजगार खोसियो । पढ्न लेख्न नजान्ने र जमीनका नाममा १ धुर माटो नभएका ऋषिदेवहरू बिहान बेलुकाको हात मुख जोड्न समस्या भएपछि कृषि मजदुरी गर्न भारतका दिल्ली, पञ्जाव र हरियाणा तिर लागेको बताउँछन् । लल्लुले भन्नुभयो – २ वर्ष अगाडि भारतको पञ्जावमा काम गर्ने क्रममा श्रीमती पद्माको छतबाट लडेर मृत्यु भयो ।’ कमाउन गएकी श्रीमती लास बनेर आएपछि लल्कुु अहिले ३ वटी छोरीको हेरचाह गरेर गाउँघर मै बसिरहनु भएको छ । हावापानी र घामसम्म नछेल्ले घरमा बस्दै आउनु भएका कलसरा ऋषिदेवले भन्नुभयो–‘पहिले धान रोप्न र काट्न सम्म पाइन्थ्यो । अहिले त्यो काम पनि मेसिनबाटै हुन थाल्यो । पढालिखा छैन् । उहिल्यै जङ्गल गएर दाउरा काटेर बेच्न पाइ्रन्थ्यो, त्यो बन्दभयो । उहाँले भन्नुुभयो–चामल खोजेर ल्यायो,दाउरा हुन्न । दाउराको जोहो ग¥यो अन्न हुन्न ।
अति विपन्न ऋषिदेव समूदाय गाउँपालिकाले घर बनाइदिने भएपछि खुसी छन् । ४९ वर्षीय कन्हैया ऋषिदेवले भन्नुुभयोे – पैसा कमाउने गाउँका केटाहरू भारत जान्छन् , तर उतै भासिन्छन् । बस्ने घर सम्म बनाउने सपना बोकेर गएका युवाहरू उतै भासिएपछि ऋषिदेव बस्ती युवा बिहीन जस्तै छ । उहाँले भन्नुुभयो–पालिकाले घर बनाइदियो भने केटाहरू अब गाउँमै बस्छन् कि ?
यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले कानेपोखरी २ मा समेत थप ८ वटा घर निर्माणका लागि शिलान्यास भइसकेको जानकारी दिनुभयो । घिमिरेका अनुसार जसको टाउको लुकाउने ठाृउँ छैन , त्यस्ता परिवारलाई पालिकाले बनाएका घरमा लगेर सुरक्षित आवासमा राखिनेछ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत प्राप्त् बजेटबाट घर निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : ११:५७:३९ , १ वर्ष अगाडि