मोरङका सबै स्थानीय सरकारले एकै प्रकृतिको कानुन कार्यान्यवमा ल्याउने

Enepal Patra Pvt. Ltd. , ७३६  पटक हेरिएको

जेफाले १० पूस । मोरङका १७ वटै स्थानीय तहले फागुन पहिलो सातादेखी एउटै कानुन कार्यान्यमा ल्याउने भएका छन् ।

अन्तरपालिका साझा सरोकार मञ्चको केराबारी २ जेफालेमा बुधबार बसेको बैठकले स्थानीय तहहरुले फागुनको पहिलो साता भित्र एकै दिन हिउँदे अधिवेशन ९नगरसभा० गरेर सबै पालिकामा एकै प्रकृतिको कानुन लागू गर्ने निर्णय गरेको हो ।

स्थानीय सरकार स्वायत्त भए पनि मोरङमा भने नयाँ अभ्यास थालिएको हो । स्थानीय सरकारका लागि चाहिने ऐन नियमहरुमा एकरुपता ल्याएर साझा सन्देश दिन खोजिएको साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

जनप्रतिनिधि चुनिएको केही महिना पछि नै मोरङ अन्तरपालिका साझा सरोकार मंच गठन गरेर नगर तथा गाँउमा देखिएका समस्या समाधान गर्ने गरेको सुवेदीले बताए ।

यस अघि बैठकले स्थनीय सरकारका लागि चाहिने कानुन ड्राफ्ट गर्न विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको सयजकत्वमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह सदस्य रहेको समिति गठन गरेको थियो । समतिले विज्ञसँग छलफल र परामर्श गरेर ड्राफ्ट गर्ने काम गरीरहेको संयोजक अधिकारीले बताए । १५ माघसम्म सबै स्थानीय तहमा कानुनको ड्राफ्ट पठाइसक्ने समितिको तयारी छ ।

मञ्चको बैठक दुई महिनाको अन्तरमा बसेर स्थानीय तहमा भएका समस्या समाधान गर्ने गरिएको छ । मोरङमा एक महानगरपालिका, ८ नगरपालिका र ८ गाँउपालिका छ ।

प्रकाशित मिति: २०१९-१२-२७ , समय : ११:०५:२० , ४ वर्ष अगाडि