सडन डेथमा बेलबारीको सङ्घर्षपूर्ण जीत

Enepal Patra Pvt. Ltd. , ६१२  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), ६ माघ । फेयर फुटबल क्लव धरानलाई सडन डेथमा १–० ले हराउँदै बेलबारी फुटबल क्लब मोरङको पथरीशनिश्चरेमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । बेलबारीको जीतमा गोल रक्षक अभिषेक बराल नायक बने ।
मोरङको पथरीशनिश्चरे –१० स्थित भूटानी शरणार्थी रङ्गशालामा भएको खेलमा निर्धारित ७० मिनेट र टाईब्रेकरमा खेलको अन्तिम निर्णय हुन सकेन । त्यसपछि भएको सडन डेथमा बेलबारीले १–०को जीत निकालेको हो । निर्धारित ७० मिनेटको खेल गोल रहित बराबरीमा सकिएको थियो भने टाईब्रेकरमा दुबै टोलीले ३–३ गोल गरेका थिए ।
सडन डेथमा बेलबारीका अन्जन राईले पहिलो प्रहार नै गोलमा परिणत गराए । तर, धरानका सुसन लामीछानेको प्रहार बेलबारीका गोल रक्षक अभिषेक बरालले उत्कृष्ठ बचाउ गर्दै रोकेपछि बेलबारील्े कठिन जीत हात पारेको हो । तीन वटा पेनाल्टी प्रहार बचाउ गरेका बेलबारीका गोल रक्षक अभिषेक बरालले आजको खेलमा म्यान अफ द म्याच घोषित हुँदै २ जार ५ सय रुपियाँ नगद सहित ट्रफि समेत हात पारे । यसअघि टाईब्रेकरमा फेयर क्लब धरानका नेपु तामाङ,निमन लिम्बू र साजन राईले गोल गरेका थिए । धरानका अनील धामी र दिवस राईको प्रहार बेलबारीका गोल रक्षक अभिषेक बरालले बचाउ गरेका थिए ।
उता बेलबारीका राजकुमार राई, विबेक पौडेल र विल्सन गिरीको प्रहार गोलमा परिणत भयो भने कासीम राईले मैदान बाहिर प्रहार गरे । मौसम लिम्बूको प्रहार धरानका गोल रक्षक विष्णु चौधरीले नियन्त्रणमा लिए ।
बुधबार आयोजक वीवाईसी फुटबल क्लव र लेटाङ फुटबल क्लव बीच खेल हुनेछ ।

प्रकाशित मिति: २०२१-०१-१९ , समय : १८:४२:१३ , ३ वर्ष अगाडि