सुन्दरहरैचामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

ईनेपालपत्र , ९४  पटक हेरिएको

बिराटचौक ७ पुस । “खेलकुदकाे विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भाैतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार ” भन्ने नारा सहित नगर खेलकुद विकास समिति, सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा आज मिति २०८० पुष ७ गते शनिबार सुन्दरहरैँचा-१० स्थित प्रस्तावित इन्द्रपुर रङ्गशालामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन तथा प्रथम सुन्दरहरैँचा स्पोर्ट्स मिट २०८० को समापन समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रम नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षता तथा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उप-प्रमुख अकली चौधरी, कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं लगायतका अतिथिहरू रहनुभएको थियो ।

पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट्सका विभिन्न स्पर्धाहरूमा सुन्दरहरैँचा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्राहरूले बेग्लाबेग्लै प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै प्रथम सुन्दरहरैँचा स्पोर्ट्स मिट २०८० मा अनुलेखन (नेपाली/अङ्ग्रेजी), चित्रकला, हिसाब दौड, बौद्धिक दौड, चकलेट दौड, भाले जुधाई, फुटबल, स्किपिङ, वक्तृत्वकला, दौड, वादविवाद, चेस र निबन्ध लेखनतर्फ २५ विधामा प्रतिस्पर्धा भएका थिए । प्रतियोगितामा नगरक्षेत्रमा रहेका ८० वटा विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०२३-१२-२३ , समय : २०:२९:३२ , ४ महिना अगाडि