चार दिनसम्म तराईमा तातो हावा चल्न सक्ने

इनेपालपत्र , १५१  पटक हेरिएको

विराटचाैक, ११ चैत । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्न सक्ने बताएको छ ।

केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०।९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ । यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ ।

धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक) का क्षेत्रमा १४ वैशाखसम्म अधिक गर्मी हुने सम्भावना छ । तातो हावाको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार थकाइ लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बान्ता हुने जस्ता समस्या निम्तिन सक्ने हुनाले यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, घाममा धेरै नजान, हल्का लुगा लगाउन, पानी वा झोल पदार्थ प्रशस्त मात्रामा पिउन उचित हुन्छ ।

महाशाखाले तराईमा मात्रै नभएर पहाडी भूभागका उपत्यका र खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति: २०२४-०४-२३ , समय : १८:२६:४८ , २ हप्ता अगाडि