लेटाङ टि-ट्वान्टी सिरिजको उपाधि त्रिवेणी राइनोजलाई

ईनेपालपत्र संबाददाता , ५४  पटक हेरिएको

लेटाङ, २८ फागुन । लेटाङमा सोमबार सम्पन्न लेटाङ टि-ट्वान्टी क्रिकेट सिरिजको उपाधि त्रिवेणी राइनोजले जितेको छ । फाइनलमा ह्याप्पी क्लब माथि ८ विकेटको सानदार जित हासिल गरेको त्रिवेणीले रु १५,००० र ट्रफी तथा उपविजेता ह्याप्पीले रु ७,५०० प्राप्त गरेका छन ।

लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा टस हारी ब्याटिङको निम्तो पाएको ह्याप्पी क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रनको मध्यम स्कोर बनाएको थियो । ह्याप्पीका माधव निरौलाले सर्वाधिक २६ रन र विजु श्रेष्ठले नटआउट २२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानहरूले उल्लेख प्रदर्शन गर्न सकेनन् । ह्याप्पीलाई मध्यम स्कोरमा रोक्न त्रिवेणीका कप्तान उत्तम ढकालले ३ विकेट लिएका थिए ।

१११ रनको लक्ष लिएर मैदान उत्रिएको त्रिवेणीले सस्तैमा सुरुवाती २ विकेट गुमाए पनि अभि सुवेदी र प्रेमसागर दाहालले तेस्रो विकेटका लागि अविजित रहँदै सतकिय साझेदारी गरेपछि ११.५ ओभरमा २ विकेटको क्षतिमा ११५ रन बनाए पछि ८ विकेटको सानदार जित हात पारेको हो । त्रिवेणीका अभि सुवेदीले नटआउट ५५ रनको अर्धशतकीय पारी खेले भने प्रेम सागर दाहालले नटआउट ४४ रन बनाएका थिए । ह्याप्पीका एमबी लिम्बूले २ विकेट लिएका थिए ।

फाइनल खेलमा ४ चौका र ६ छक्का सहित २७ बलमा नटआउट ५५ रन बनाएका त्रिवेणीका अभि सुवेदी म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा ३ खेलमा सर्वाधिक ८८ रन (८६ ब, ४×११, ६×३) बनाएका त्रिवेणीका प्रेमसागर दाहाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । प्रतियोगितामा ३ खेलमा ७ विकेट (११.५ ओ, १ मे, ४.४ इ) लिएका त्रिवेणीका द्रोण मगर उत्कृष्ट बलर घोषित भए । प्रतियोगितामा ३ खेलमा ७ विकेट (११.४ ओ, ३ मे, ६.३ इ) र ४२ रन (४८ ब, ४×४, २×६) बनाएका ह्याप्पीका एमबी लिम्बू म्यान अफ द सिरिज घोषित भए ।

फाइनल खेलको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि लेटाङ वडा नं ४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक विवस श्रेष्ठ, अतिथिहरू काया डिजाइनर्सका प्रो. सुदेश वस्ती, मिलन कपडा पसलका प्रो. मिलन श्रेष्ठ, प्राइम बैंकका शाखा प्रवन्धक सतिस काफ्ले, लियो क्लब अध्यक्ष राजेश ढकाल, शिखर कम्प्युटर इन्स्टिच्युटका प्रो. सुर्य घिमिरे लगायतले विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरेका थिए ।

लेटाङका क्रिकेट खेलाडीहरू त्रिवेणी राइनोज, ह्याप्पी क्लब र युनाइटेड क्लबमा आवद्ध भइ सोही क्लबहरूको संयुक्त आयोजनामा फागुन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको प्रतियोगितालाई वडा नं ४ ले प्रथम पुरस्कार तथा नगर प्रमुखका स्वकीय सचिव रुपेश खड्काले दोस्रो पुरस्कार प्रायोजन गरेका हुन भने लेटाङका व्यवसायीहरू तथा खेलप्रेमीहरूको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

#RaazZaaw

प्रकाशित मिति: २०२४-०३-११ , समय : १८:४३:५२ , २ महिना अगाडि