गोदामचौरमा आन्तरिक पर्यटक बढ्दै

Enepal Patra Pvt. Ltd. , ६९४  पटक हेरिएको

गोदावरी, २ माघ । ललितपुरको गोदावरी नगरपालिका– १ गोदामचौर सिमलको भिर क्षेत्र मन्दिर दर्शन तथा वनभोजका लागि आन्तरिक पर्यटकको आकर्षण दिनानुदिन बढेको छ । यस वर्षबाट वनभोजका लागि उपयुक्त स्थानको रूपमा रोजिएको गोदामचौरमा होटलकर्मीको चहलपहल बढेसँगै आन्तरिक पर्यटकको आवागमन बढेको छ । साविकको गोदामचौर गाविस–१ र विशङ्खुनारायण गाविस–२ को सिमानामा उक्त वनभोज गर्ने थलो आठ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

विसं २०६१ पहिले ढुङ्गाखानीको रूपमा परिचित यस स्थानमा ठेकेदारको बेइमानी बढ्दै जाँदा तिनीहरूलाई यहाँबाट हटाई मनकामना मन्दिर स्थापना गरिएको मनकामना सुधार संरक्षण समितिका अध्यक्ष बुद्धिनाथ आचार्यले जानकारी दिनुभयो । “एक त हरियाली वनपाखाले घेरिएको क्षेत्र, त्यसैमा वरपर विभिन्न देवीदेवताका मन्दिर दर्शन गर्न पाउने सुविधा हँुदा धरैजसो होटलकर्मी वनभोजका लागि यहाँ आउँछन्”, आचार्यले भन्नुभयो, “यहाँको सुन्दर र शान्त्त वातावरणमा मोहित भई ललितपुरको च्यासल, कुमारीपाटीका साथै हिमालयन होटल, काठमाडौँको हायात र दरबारमार्ग होटलका कर्मचारीले यहाँ पटकपटक वनभोज गरिसक्नुभएको छ ।”

विसं २०६१ पछि दुई चरणमा मन्दिर परिसरमा सप्ताह आयोजना गरी सङ्कलन गरिएको रकम र सहयोगबाट पित्तलको छानो हाली यस स्थानलाई व्यवस्थित बनाइएको छ । गोेदामचौर सिमलको भिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले रु सात लाख, सांसद विराज विष्टले सांसद कोषको रु दुई लाख र ललितपुर जिल्ला विकास समितिले रु १५ हजार रकम सहयोग गरी विभिन्न देवीदेवताको मन्दिर स्थापना गर्न सहयोग गर्नुभएको आचार्यले बताउनुभयो ।

“यसका अतिरिक्त गोदावरी नगरपालिकाले यस स्थानमा व्यवस्थित वनभोज क्षेत्र निर्माण, संरक्षण र संवद्र्धनका लागि रु १० लाख रकम सहयोग गरेको छ”, आचार्यले थप्नुभयो “नगरपालिकाले सहयोग गरेको रकमबाट मन्दिर वरपर तारजाली लगाउने र दुईवटा शौचालय निर्माण गर्ने योजना अघि बढेको छ ।”

विसं २०६१ बाट यहाँ मन्दिर निर्माण गर्ने र बोटबिरुवा रोप्ने काम थालिए पनि २०७५ सालबाट मात्रै आन्तरिक पर्यटकको आवागमन बढेको हो । यसवर्षको शुरुआतसँगै प्रत्येक शनिबार तीनदेखि चार समूहका मानिसले सिमलको भिरमा वनभोज गर्न थालेका छन् । समितिले खुल्ला चउरमा वनभोज गर्नेलाई रु ५०० र जस्ताको छानोमुनि वनभोज गर्नेलाई रु एक हजार ५०० लिने गरेको छ ।

गोदामचौर सिमलको भिरलाई यहाँका स्थानीय मानिसले विशङ्खु नारायणथानको पाउ भनी पूज्ने गर्छन् । तीज, महाशिवरात्रि, कृष्णजन्माष्टमी, रामनवमी र सरस्वती पूजाको मेला यहाँ लाग्ने गर्छ । वनभोजस्थल नजिकै रमणीयस्थल फूल्चोकी, गोदावरी, ऐतिहासिक महारानीघाट नदी र एक सय आठ धार्मिककुण्ड रहेका छन् ।

प्रकाशित मिति: २०१९-०१-१६ , समय : १५:४६:३६ , ५ वर्ष अगाडि