एक महिनामा ९१ हजार ७९३ पर्यटक भित्रिए

Enepal Patra Pvt. Ltd. , ७१२  पटक हेरिएको

काठमाडौं २९ माघ । सन् २०१९ को पहिलो महिनामा झण्डै एक लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार जनवरीमा हवाई मार्ग भएर ७७ हजार ३ सय र स्थलमार्ग भएर १४ हजार ४ सय ९३ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

यो संख्या अघिल्लो वर्षको यसै अवधिमा भन्दा २५ दशमलब ४ प्रतिशतले धेरै भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा जनवरीमा भारतबाट आउने पर्यटकको संख्या समेत २० प्रतिशतले बढेको छ ।

अघिल्लो महिना भारतबाट १४ हजार ६ सय ५० पर्यटक विभिन्न मार्ग भएर नेपाल भ्रमणमा आएका बोर्डले जनाएको छ । सार्क क्षेत्रबाट आउने पर्यटकको संख्यामा समेत ११ प्रतिशतले वृद्धि भएको छ ।

२०१८ मा तुलनामा जनवरीमा सार्क क्षेत्रबाट १७ हजार ४ सय ३२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बंगलादेशबाट आउने पर्यटकको संख्यामा भने ४८ प्रतिशतले गिरावाट देखिएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा २ हजार ७ सय ४४ जना पर्यटकले नेपाल भ्रमण गरेकोमा यस वर्ष जम्मा १ हजार ४ सय २७ जना बंगलादेशी पर्यटक नेपाल आएका छन् ।

पाकिस्तानबाट आउने पर्यटक समेत २८ प्रतिशतले घटेका छन् । अघिल्लो वर्षको यस अवधिमा ३ सय ८८ जना पर्यटक नेपाल आएकोमा यस वर्ष २ सय ७९ आएका छन् ।

श्रीलंकाबाट आउने पर्यटक ११ प्रतिशतले बढेका छन् । २०१८ को जनवरीमा १५ हजार ६ सय २५ पर्यटक आएकोमा यस वर्षको पहिलो महिनामा आउनेको संख्या १७ हजार ४ सय ३२ पुगेको छ ।

यस अवधिमा चीनबाट आउने पर्यटकको संख्यामा १४ प्रतिशतले वृद्धि भएको छ । १३ हजार ६ सय ८८ चिनियाँ पर्यटकले जनवरीमा नेपाल भ्रमण गरेका हुन् ।

थाइल्याण्डबाट ८ हजार ४ सय ४२ जापानबाट २ हजार ९ सय ४४, दक्षिण कोरियाबाट ६ हजार ५ सय ८४, मलेसियाबाट १ हजार ७२ र सिंगापुरबाट ४ सय १० पर्यटक नेपाल आएका छन् ।

२०१९ लागेयता युरोपेली मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा बढोत्तरी देखिएको छ । अघिल्लो वर्षको तुलनामा युकेबाट २७ प्रतिशतले बढ्दै ४ हजार १ सय ३० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् भने जर्मनी र फ्रान्सबाट १९ प्रतिशतले बढेका छन् ।

जर्मनीबाट १ हजार ५ सय ४९ र फ्रान्सबाट १ हजार ३ सय ७५ जना पर्यटक जनवरीमा नेपाल आएका हुन् । यस अवधिमा अमेरिकाबाट आउने पर्यटक पनि बढेका अध्यागमन विभागको तथ्याकंले देखाउँछ ।

अघिल्लो वर्षको जनवरीमा ५ हजार ४ सय ८५ जना अमेरिकी नेपाल आएकोमा यस वर्षको जनवरीमा त्यो संख्या २८ प्रतिशतले बढ्दै ७ हजार २८ पुगेको छ ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले निरन्तरको प्रयासले नेपाल भ्रमणमा आउने वाहृय पर्यटकको संख्यामा वृद्धि देखिएको बताए ।

भ्रमणका लागि नेपाल उत्कृष्ट गन्तब्य भएको सन्देश अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन सक्दा पर्यटक आकषिर्त हुँदै गएको उनको भनाइ छ ।

पर्यटक आगमनको वृद्धिले सार्वजनिक एवं निजी क्षेत्रलाई पनि उत्साहित बनाउने उनले बताए । नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: २०१९-०२-१५ , समय : १२:५०:१७ , ५ वर्ष अगाडि