प्रदेश–१ सरकारको एक वर्ष : कानुनसँगै तयार हुँदै विकासको आधारशीला

प्रदेश–१ सरकारको एक वर्ष : कानुनसँगै तयार हुँदै विकासको आधारशीला

Enepal Patra Pvt. Ltd. , ८३७  पटक हेरिएको

कुमार लुइँटेल

विराटनगर २०७५ फागुन ३ शुक्रबार । प्रदेश–१ सरकार गठन भएको बिहीबार एक वर्ष पुगेको छ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको भनाइलाई आधार मान्ने हो भने ‘प्रदेश सरकार गठन भई कार्यसंचालनमा आएको पछिल्लो एक वर्षलाई कानुन निर्माणको वर्ष’ भन्नुपर्छ । यो अवधिमा सरकारले गरेको काम र कमजोरी समीक्षा गर्दै मुख्यमन्त्री राईले बिहीबार प्रदेशसभालाई जानकारी गराएका छन् ।

राईले भने, ‘‘कानुन निर्माण गर्नेपर्ने समय थियो । पूरापूर सदुपयोग गरिएको छ । लगभग सरकार एउटा गतिमा हिँड्ने आधार तय भएको छ ।’’ प्रदेश सरकारले दुईवटा अधिवेशनमार्फत् जम्मा २३ वटा कानुन निर्माण गरेको छ । आफ्नै संरचना तयार हुँदै गर्दा विकासका प्रारम्भिक कामलाई संचालन गर्न सुरु गरेको छ ।

बम बम बम
मुलुक संघीयतामा गई प्रदेश सरकार गठन भएपछि जनताको समस्या समाधान गर्ने थलोको रुपमा प्रदेश सरकार र प्रदेशसभालाई मान्न थालिएको दाबी गर्दै मुख्यमन्त्री राईले चालू हिउँदे अधिवेशनबाटै स्थायी नाम र राजधानी समेत टुंगो लगाइने बताएका छन् । एक वर्षमा सरकारले गरेका काम र प्रगतिबारे मुख्यमन्त्री कार्यालयमै विशेष पत्रकार सम्मेलन गरी जानकारीसमेत दिइएको छ ।

आँफै संरचना निर्माण गर्दै आफूँ हिँडंने बाटो तय गर्दा जनताले अपेक्षा गरेजसरी काम गर्न नसकेको स्विकार गर्दै राईले भने, ‘‘यद्यपि प्रदेश सरकार प्रति जनआकर्षण भने बढ्दै गएको पाएको छु ।’’ प्रदेश सरकारले विकासका परियोजनालाई प्राथमिकतामा राख्दै विकासमा ध्यान केन्द्रीत गरेको राईले बताए ।

जनतासँग प्रहरी, घरघरमा स्टिकर

प्रदेश सरकार गठन भई एक सयदिने कार्यक्रममा समेटिएको जनतासँग प्रहरी कार्यक्रमले मूर्त रुप पाएको थियो । जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्न तथा प्रहरीको मनोबल उच्च बनाउन जनतासँग प्रहरी कार्यक्रमअन्तर्गत टेलिफोन, इमेल, फ्याक्स, स्थानलगायतका आवश्यक सूचनासहितको स्टिकर प्रदेशभरि टाँसिएको थियो । नागरिककका घरघरमा स्टिकर टाँस्न स्थानीय रुपमा प्रहरी नै सक्रिय बनेका थिए । करिब १० लाख घरधुरीमा सूचनामूलक स्टिकर टाँसिएको थियो । स्टिकरमा नजिकैको प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको विवरण उल्लेख छ । सरकारले सुरक्षित सीमा, सुरक्षित जीवन,खुल्ला सीमा र सुरक्षा चुनौतीलाई महशुस गर्दै बोर्डर आउट पोस्ट ९बिओपी० निर्माणको कार्यसमेत अघि बढाएको छ । भारत र चीन सीमामा जम्मा १३ वटा बिओपी निर्माण गर्न सरकारले काम अघि बढाएको प्रदेश सरकारले जनाएको छ ।

मिल्क होलिडेविरुद्ध पाउडर प्लान्ट

मिल्क होलिडेबाट पीडित स्थानीय किसानलाई राहत दिन प्रदेश सरकारले पाउडर प्लान्ट निर्माणको योजनामा काम सुरु गरेको छ । कुल १० करोड बजेट छुट्याएर सुरु गरिएको यो कामअन्तर्गत पहिलो चरणमा दुग्ध विकास संस्थान ९डीडीसी० को विराटनगर कार्यालयको पाउडर प्लान्टलाई स्तरोन्नति र सुदृढीकरणको लागि काम अघि बढेको छ । यसका लागि प्रदेश सरकारले डीडीसीलाई ५ करोड बजेट विनियोजन गरेको छ । यसैगरी दीर्घकालीन रुपमा मिल्क होलिडे अन्त्य गर्न सहकारी र डेरी व्यवसायीको संलग्नतामा एउटा छुट्टै पाउडर प्लान्ट निर्माण गर्ने गृहकार्यसमेत सुरु गरिएको छ । यसबाट डीडीसीले किसानबाट खरिद गर्ने दूधको कोटा बढाउने र बढी भएको दूध सहकारीमार्फत् खोलिएको प्लान्टबाट समेत पाउडर बनाउने योजना सरकारले अघि सारेको छ ।

हरित अभियान, हरियाली प्रदेश

प्रदेश एक सरकारले प्रदेशमा हराभरा बनाउन वहुबर्षे योजनासहितको अभियान घोषणा गरी काम अघि बढाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित चतराधाममा आयोजना भैरहेको श्रीराम तारकब्रम्ह महायज्ञको उद्घाटनको अवसर पारेर २६ माघमा यो अभियान घोषणा भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र मुख्यमन्त्री शेरधन राईले चन्दनको बिरुवा बोकेर वतावरण हराभर बनाउने भन्ने संकल्प गर्दै अभियान सुरु गरेका हुन् । यसलाई सरकारले प्राथमिकता दिएको छ । खाली जमिन र डाडाँपाखाहरुमा वृक्षरोपण गरिने छ । नदी नाला थुम्काबाट भैरहेको प्राकृतिक दोहन संरक्षण गर्ने सरकारको तयारी छ । यो कार्यक्रमले पशुपालनलाई पशुधनमा विकास गरी प्रांगारिक मलको प्रयोगमा उत्साहितसमेत गर्नेछ । बाँझो खेतवारी राख्न नदिन किसानलाई वहुवाली प्रणालीमा सामेल गराइने सरकारले जनाएको छ । एक व्यक्ति एक रुख संरक्षण सरकारको लक्ष्य रहेको मुख्यन्त्री राईले बताए । यो अभियानमा जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ चतराधामसमेत सहभागी छ ।

कोशी रिफ्रेसमेन्ट सेन्टर

प्रदेश सरकारले आफ्नो पहिलो परियोजनाको रुपमा कोशी रिफ्रेसमेन्ट सेन्टरलाई अघि सारेको छ । सुनसरीको कोशी गाउँपालिकाको भान्टाबारीमा निर्माण हुने सेन्टरमा लामो यात्रा गरी आउने यात्रु तथा यातायातका कर्मचारीलाई आराम गर्ने व्यवस्थाका साथै पर्यटकलाई समेत आकर्षित गर्ने सरकारको लक्ष्य छ । स्थानीय शिव चौकमा निर्माण हुने सेन्टर विकसित मुलुकमा भएको सेवा सुविधा उपलब्ध हुने छ । नजिकै कोशीटप्पु बन्यजन्तु आरक्ष तथा सप्तकोशीसमेत भएकोले यो क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्न तारो होटल, भ्यूटावरसहितका संरचना खडा गर्ने सरकारले तयारी गरेको छ । यसको लागि ३५ करोड बजेट छुट्याइएको छ । यसको परियोजना कार्यालय केही दिनअघि सुनसरीको इनरुवमा उद्घाटन भएको थियो । सरकारले कृषि, पर्यटन, धार्मिक क्षेत्रसहितका विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको मुख्यमन्त्री शेरधन राई बताउँछन् ।

यस्ता छन् प्रदेश सरकारका काम

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिएको । प्रदेशभित्रका विमानस्थलमा विराटनगरबाट उडान गर्ने पहल । प्रदेशबाटै माउन्टेन फ्लाइटको सुरुवात ।

दिगो विकासको आधारको रुपमा मुलुकमै पहिलो पटक सडक सुशासन कार्यक्रम आरम्भ । ६ जिल्लाका दश दश किलोमिटर गरी जम्मा ६० किमी सडकमा

प्रारम्भिक कामको शुरुवात ।प्रदेशमा लगानीको सकारात्मक वातावरण रहेको सन्देश दिदैं निजी क्षेत्रलाई विश्वस्त पारिएको ।

कृषिमा यान्त्रिकरणलाई अघि बढाउँदै प्रदेशभरमा तीनवटा शीत भण्डार निर्माणको योजना ।

इलामको सूर्योदय नगरपालिका, सोलुखुम्बुको पासाङल्हामु खुम्बु गाउँपालिका र धनकुटाको भेडेटारमा आकर्षक पर्यटकीय गन्तब्य क्षेत्रको साँगुरीगढीमा विशेष आर्थिक अनुदान प्रदान ।

प्रदेशका ९५९ सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापानको काम सुरु र १३७ स्थानीय तहमा एउटा खेलमैदान निर्माणको लागि एन्फासँग सम्झौता ।

खडेरी प्रभावित तेह्रथुम, धनकुटा र पाँचथरका खडेरी पीडितलाई राहत प्याकेज वितरण ।

source: baahrakhari.com

प्रकाशित मिति: २०१९-०२-१५ , समय : १२:२८:३१ , ५ वर्ष अगाडि