प्रदेश सांसदको आरोप ! ‘काठमाडौंमा घर बनाउन कर्मचारी प्रदेशमा आउँछन्, लुट्छन् अनि जान्छन्’

Enepal Patra Pvt. Ltd. , ६९०  पटक हेरिएको

विराटनगर, १८ फागुन । पैसा कमाएर काठमाडौंमा घर बनाउन प्रदेशमा कर्मचारीहरू आउने गरेको टीका टिप्पणी प्रदेशसभामा भएको छ । प्रदेश १ को सभाको आइतबारको बैठकमा प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा कर्मचारी नभएर हैरानी भएको तर आउनेहरू समेत टुरिस्ट झै आउने जाने गरेको भन्दै टिप्पणी गरे ।

कार्कीले भने, ‘‘प्रदेश विकासको कुरा गर्दा कर्मचारी छैनन् भन्ने सुन्दैछौं । अस्पतालमा डाक्टर छैनन् । लोकसेवामा हामीले किन नियुक्ति गरेको हो रु कर्मचारीहरू टुरिस्ट जस्तो आउँछन् । प्रदेशमा कमाई गर्छन् अनि काठमाडौंमा घर बनाउन जान्छन् ।’’ उनले कर्मचारी प्रदेशमा कमाई गर्न मात्र आउने गरेको आरोप लगाए ।

उनले विपक्षीले उठाएको कुरालाई सदनमा शपथ नगरेका धेरै मन्त्रीहरूले पेल्ने गरेको भन्दै सत्तासीन सांसदलाई कटाक्ष गरे । कार्कीले कोरोनाले विश्व आक्रान्त भएका बेलामा प्रदेश सरकारले पनि चासो दिएर सतर्कता अपनाउनु पर्ने सुझाव दिए । भने, ‘‘नेपाल सरकारले गरेन गरेन । विपद् भनेको पाँचलाख मात्र दिने हो र रु विपद्को बैठक बसेर के गर्ने के सुरक्षा अपनाउने भन्ने होइन रु’’

नेकपाकी सांसद वसन्तीदेवी चौधरीले विराटनगरबाट जोगबनी जाने बाटो वडा नम्बर १२ र १३ बीचको सडक निर्माणमा ध्यान दिन भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरिन् । जनप्रतिनिधि घच्घच्याए पनि सडक निर्माणमा खासै चासो नभएको गुनासो गरिन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे सदनमा शून्य समयमा उठाइएका सवालको जवाफ दिने नगरिएको भन्दै सरकारको आलोचना गरिन् । भनिन्, ‘‘मुख्यमन्त्रीबाट जवाफ आउनु पर्छ । चालु आर्थिक वर्षको आठ व्यतित भयो अब चार महिना मात्रै बाँकी छ ।

बजेट खर्च तीस प्रतिशत पनि हुन सकेको छैन रु कानुनको अभावमा नभएको हो भने खर्चसम्बन्धी कानुन बनाउन जरुरी छ ।’’ उनले धरान–मुलघाट सुरुङमार्ग सम्भाव्यता अध्ययन गर्न माग गरिन् । ‘‘त्यो काम चाँडो थालियोस् ।

तीस किमि छोटो हुन्छ,’’ तुम्बाहाम्फेले भनिन्, ‘‘सुरुङ मार्गले बहुआयामिक हिसाले पनि खर्च बच्दछ । ताप्लेजुङ, पाँचथर, तेह्रथुमका बासिन्दालाई प्रदेश राजधानी आउन पनि सहज हुन्छ ।’’

कांग्रेसकी बिन्दिया कार्कीले एक अवला महिलामाथि काठमाडौंमा प्रहरीले गरेको कुटपिट अति नै निन्दनीय भएको सुनाइन् । भनिन्, ‘‘एउटा आतंककारीलाई पनि त्यसरी कुटपिट गरिँदैन होला जसरी महिलालाई गरिएको छ ।’’ कांग्रेसकै ज्योति सुब्बाले विकास निर्माणमा गति दिन माग गरिन् ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : २०:०३:१७ , ४ वर्ष अगाडि