बुद्धिचाल खेलले स्वाभाविक गतिमा हिड्न सिकाउँछ–मुख्यमन्त्री राई

Enepal Patra Pvt. Ltd. , ८५१  पटक हेरिएको

उर्लाबारी,माघ ५ गते । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बुद्धिचाल खेलले बौद्धिक अभ्यास मात्र नभइ यसले स्वाभाविक गतिमा हिड्न सिकाउँने बताउनु भएको छ । दुस्हासिक कदम चाल्दा कसरी राजा ढल्छन् भन्ने ज्वलन्त उदाहरण बुद्धिचाल खेलबाट सिक्न सकिने उहाँले बताउनु भयो ।
मुख्यमन्त्री राई शनिबार मोरङको पथरीशनिश्चरेमा फ्रेण्डसीप चेस क्लवले आयोजना गरेको शहिद रत्नकुमार बान्तवा राष्ट्रब्यापी खुल्ला चेस प्रतियोगिताको उद्घाटन गर्दै हुनुहुन्थ्यो । उहाँले सङ्घीयता र गणतन्त्र नयाँ बाटो भएकोले यात्रा गर्ने क्रममा केही अलमल र अप्ठ्यारो भएको स्वीकार्दै यो अप्ठ्यारोलाई असफलताको संज्ञा नदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –सङ्घीयता सञ्चालनमा केही अलमल हुँदैमा पूर्व राजा र पुर्नउत्थानबादीहरू उत्साही हुनु पर्दैन् । संविधान र गणतन्त्रलाई असफल बनाउन कसैले नसक्ने उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घ र प्रदेशमा स्थीर र बलियो सरकार भएकोले पुर्नउत्थानबादीलाई खुट्टा नउचाल्न सुझाव दिनुभयो । समृद्धि र बिकास सरकारको पहिलो लक्ष्य भएकोले अब तीनै तहको सरकार सोही बाटोमा लागेको उहाँको भनाई थियो ।
बुद्धिचाल खेलको उद्घाटनका क्रममा पथरीशनिश्चरे पुग्नु भएका मुख्यमन्त्री राईले बुद्धिचाल खेललाई पनि अरु खेललाई जस्तै महत्व दिनु पर्नेमा जोड दिनुभयो । पे्रmण्डसीप चेस क्लबका अध्यक्ष अमीर राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले चेसको गोटी चालेर खेलको उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा देशभरका १सय ४० खेलाडीले प्रतिस्पर्धा गर्ने भएकाछन् ।स्थानीय सिन भिलेज पार्टी प्यालेसमा सुरु भएको प्रतियोगितामा नेपाल बुद्धिचाल सङ्घका केन्द्रीय पदाधिकारी र प्राविधिक टोलीको समेत उपस्थिति रहेको छ । प्रतियोगिता ९ गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०१९-०१-१९ , समय : १८:३५:१५ , ५ वर्ष अगाडि