मोरङ्गे ताल: जहाँ हुन्छ दुर्लभ गैँडाको बास

शिवकुमार काशी , ७२०  पटक हेरिएको

हेटौँडा, २२ पुस । दुर्लभ एकसिंगे गैँडा हेर्नका लागि विदेशी पर्यटकहरु नेपालको चितवन, बर्दिया लगायत स्थानहरुमा कैयौ दिन पर्खिरहेका हुन्छन् । तर, मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ सुनाचुरीमा रहेको मोरङ्गे तालमा गैँडा आउँछ, खेल्छ र बास बस्छ । गाउँलेहरुले सहजै गैँडा देख्छन्, आफ्नै सुरमा फेरि गैँडा चितवन फर्कन्छ ।

चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रह्मदेवी–लामिदमार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र पर्ने सयौँ बर्ष पुरानो मोरङ्गे तालमा गैँडा आउने र बास बस्ने गर्दै आइरहेको मनहरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष गोपीलाल मुक्तानले बताउनुभयो । ‘मैले थाहा पाएदेखि नै यो ताल ऐतिहाँसिक रुपमा रहेको छ’, वडाध्यक्ष मुक्तानले भन्नुभयो–‘गैँडा खेल्ने र बस्ने स्थानको रुपमा यो ताल सयौँ बर्षदेखि परिचित छ ।’

पूर्वपश्चिम राजमार्गको सुनाचुरीस्थित नेपाली सेनाको १ नं जगदल गणबाट ५०० मिटर दक्षिणतर्फ रहेको यो ताल मानवबस्तीसँग जोडिएको छ । ताल नजिकै फुटबल मैदान छ भने ताललाई चारैतिरबाट मानवबस्ती घेरेको छ । ‘मान्छेका घरहरु छिचोल्दै चितवन निकुन्जबाट गैँडा मोरङ्गे ताल खोज्दै आउने गरेको छ’, भुलचोक–खयरघारी टोल विकास संस्थाका अध्यक्ष सूर्यबहादुर विश्वकर्माले भन्नुभयो । निकुन्ज क्षेत्रमा घाँसहरु सुक्दै गएपछि र गर्मी बढ्दै गएपछि गैँडा मोरङ्गे तालको चिस्यान र घाँसे मैदान खोज्दै राप्ती तरेर मोरङ्गे ताल आउने गरेको हरियाली मोरङ्गे ताल पार्क व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार बर्षमा झण्डै २ सय दिनजति गैँडा मोरङ्गे ताल परिसरमै हुनेगर्छ । ऐतिहाँसिक मोरङ्गे तालमा आउने गैँडाहरु मानवसँग रत्तिसकेकाले भागदौड नगर्ने र मानिसले पनि गैँडा आउँदा दच्किने व्यवहार नगर्ने गरेकाले मानव र गैडाबीच द्वन्द्व नरहेको अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

मोरङ्गे तालको संरक्षणका लागि अघिल्लो आर्थिक बर्षमा सामुदायिक वन उपभोक्ता समूह र मनहरी गाउँपालिकाले लगानी गरी तालको सफाई र झाडी सुधार गरी वरिपरि पैदल हिँड्न मिल्ने गरी बाटो निर्माण गरेको छ । तालमा आइपुग्ने गैँडासँगै अनेक जातका रैथाने माछा, कछुवा र ६ वटा गोही समेत रहेको वडाध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षमा प्रदेश नं ३ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले ७५ लाख रुपियाँ बिनियोजन गरेकाले मोरङ्गे तालको संरक्षण, तालसम्म पुग्ने बाटो तथा गेट निर्माण, सार्बजनिक शौचालय निर्माण लगायतका कार्य अघि बढ्ने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आगामी दिनमा चितवन राष्ट्रिय निकुन्जसम्बन्धी जानकारी दिनका लागि इ लाइब्रेरी निर्माण गर्ने, प्रतिक्षालय, गोलघरहरु निर्माण गरी मोरङ्गे क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।

पर्यटकीय क्षेत्रको रुपमा डिपिआर निर्माण गरी अर्को मानव निर्मित ताल बनाउने, मच्चानहरु खडा गरी वन्यजन्तु र मानव बस्तीहरुको दृष्यावलोकन गर्ने स्थल बनाउने लगायतका योजनाहरु अघि सारिएको समितिका अध्यक्ष श्रेष्ठको भनाई छ । ‘मोरङ्गे ताललाई प्राकृतिक रुपमा गैँडाकै आश्रयस्थलको रुपमा विकास गर्ने र पर्यटकहरुलाई डुंगा समेत चढाउने गरी पश्चिमतर्फ अर्को ताल बनाउने योजना बनाएका छौँ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो । मोरङ्गे तालसहित विभिन्न संरचना बनाउने गरी डिपिआर बनाउने तयारी गरिएको क्षेत्र ५२ हेक्टर रहेको छ ।

प्रकाशित मिति: २०२०-०१-०७ , समय : १२:१३:१५ , ४ वर्ष अगाडि