ईनेपालपत्र संबाददाता , ८ पटक हेरिएको
 
टोपलाल अर्याल
गुल्मी, कार्तिक १४ गते। पाकेको धान उठाउने बेला बर्षा भएपछि किसानको धान खेतमै डुबेको छ। लगातार तीन दिनदेखि पानी परिरहेको छ। किसानले केही भए पनि जोगिएला कि भनेर पानी–पानीमै धान उठाइरहेका छन्।
धुर्कोट गाउँपालिका–४ जैसीथोकका पीताम्बर पोख्रेलको दुई ठाउँका खेतमा गरेर २२÷२५ मुरी धान उत्पादन हुन्छ। पोख्रेलले एक ठाउँको धान छिट्टै पाकेकाले तिहारअघि नै स्याहार्नुभएको थियो।
कात्तिक ९ गते काटेको धान पानीले भिजाएपछि उठाउन थाल्नुभएको हो। लामो वर्षा हुँदा खेतमै उम्रने डरले पानी–पानीमै धान उठाउन बाध्य भएको पोख्रेलले बताउनुभयो।
मुसिकोट नगरपालिका–७ को सुदिका फाँटमा थुप्रै किसानको धान खेतमा डुबेको छ। अमर कुमाल श्रमिक काम गर्नुहुन्छ। उहाँले अरुको अधियाँ धान खेती गर्दै आउनुभएको छ। असारमा दुःख गरेर रोपेकाले राम्रोसँग धान स्याहार्ने आशा थियो। वर्षाले झर्ने र रुज्ने भएकाले स्वभाविक रुपमा उत्पादन राम्रो नहुने कुमालले बताउनुभयो।
मुसिकोट नगरपालिका–२ का मानबहादुर खत्रीको पनि खेतभरि आफूसहित ३०र३५ घरधनीको धान पानीले डुबाएको छ। इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले आफ्नो धान डुबे पनि नउठाएको बताउनुभयो। धान कुहिने र उम्रने समस्या हुने भए पनि कतिपयले झरीमै धान उठाएको घिमिरेले बताउनुभयो।
कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले बर्सातले समग्र धान उत्पादनमा क्षति पुग्ने बताउनुभयो। उहाँले पाकेको र काटेकोलाई धेरै असर र फूल खेलेर तापक्रम खोजिरहेको धानलाई पनि वर्षाले असर गर्ने बताउनुभयो।
गुल्मीमा गत वर्ष सात हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा २३ हजार १४० मेट्रिक टन उत्पादन भएको थियो। सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार यस वर्ष सात हजार ४८ हेक्टर क्षेत्रफलमा २२ हजार ९१० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो। यो वर्षाले दुई हजार २२० मेट्रिकटन धान उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेले बताउनुभयो।
गुल्मीदरबारको गरमटारी, खर्ज्याङ घोडाहाफाँट, टारीफाँट, छत्रकोटका खर्ज्याङ, मनबाग, अँगा, उल्लीखोला, बोआ फाँट र रुरु क्षेत्रका टाहाटिम लगायतका स्थानमा धानको उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।
प्रकाशित मिति: २०२५-१०-३१ , समय : १७:१७:११ , ८ घन्टा अगाडि
