सुनसरी मोरङ सिंचाई आयोजनाको केन्द्रीय जल उपभोक्ता संस्थाको साधारण सभा

सात वटा शाखा समितिबाट साधारण सभा बहिस्कार

हरि कोइराला , ७६५  पटक हेरिएको

मोरङ २३ मंसिर । सुनसरी मोरङ सिंचाई आयोजना अन्तरगत गठित जल उपभोक्ता केन्द्रीय समन्वय समिती चतरा मुल नहरको १३ औं साधारण सभा मोरङका ७ वटा शाखा समितिले बहिस्कार गरेका छन् ।
आइतबार सुनसरीको झुम्कामा भएको साधारणसभामा एजेण्डाहरू छलफल नगराई पास गराइएको भन्दै सात वटा शाखा समितिले बहिस्कार गरेका हुन् । योजना र उपभोक्ता समिति नेपाल सरकारको सिंचाई मन्त्रालयले तयार गरेको कार्यविधि २०७२ अनुसार सञ्चालन हुनु पर्ने बहिस्कार गर्ने शाखाका अध्यक्षहरूको भनाई छ । विराटनगर शाखाका अध्यक्ष बीरेन्द्र माझीले भन्नुभयो – गत पुस देखि मुलसमितिको बैठक कार्यालयमा बसेको छैन । समितिका सदस्यहरूको घर घरमा खाता लगेर हस्ताक्षर गराई साधारण सभाका एजेण्डा पास गराइएको छ । हामीले संस्था नीतिले चलार्औँ । ब्यक्तिगत निर्णयबाट होइन भनेका छौं । एजेण्डा मात्रै होइन । आय ब्यय समेत पारदर्शी नभएको माझीले बताउनु भयो ।
उता रन्जनी शाखाका अध्यक्ष देवीबहादुर भण्डारीले केन्द्रीय अध्यक्ष रामप्रसाद मेहता विरुद्धको मुद्धा अदालतमा विचाराधीन भइरहेको अवस्थामा भएको साधारण सभाको बैधानिकतामा प्रश्न उठाउनु भएको छ । उहाँले भन्नुभयो – अध्यक्ष नै उहाँ हो वा होइन भन्ने विषय किनारा नलागि साधारण सभा गर्नु उहाँको बल मिच्याई मात्रै हो । भण्डारीले साधारण सभा बहिस्कार गर्ने सात वटै शाखाका अध्यक्षहरूल आइतबार नै सुनसरी मोरङ सिंचाई आयोजनाका आयोजना प्रमुखलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको बताउनु भयो ।
झमनपुर शाखाका अध्यक्ष खङ्गलाल साहले भन्नुभयो – साधारणसभामा के विषयले प्रवेश पायो भन्ने कुरा कार्य समितिका सदस्यले नै थाहा पाएनौं । हामीले साधारण सभामा लगिने एजेण्डाहरू छलफल गरी लगौं भनेका हौं । तर, साधरण सभामा लगिने विषय र आय ब्यय नै साधारण सभामा पेश नभई पारित भयो । ’ उहाँले साधारण सभाको बैधानिकताको विषयमा न्यायलय सम्म पुग्ने बताउनु भयो ।
साधारण सभा बहिस्कार गर्ने शाखाहरूमा झमनपुर जल उपभोक्ता संस्था ,चिसाङ माइनर जल उपभोक्ता संस्था,रन्जनी,नयाँ पटी , हुर्हुरिया,हरिनगरा महादेवकोल र विराटनगर जल उपभोक्ता संस्था रहेका छन् ।
सुनसरी मोरङ सिंचाई आयोजनाका आयोजना प्रमुख आनन्दप्रकाश धामीले समेत एजेण्डा छलफल गराएर मात्रै पारित गर्नुपर्नेमा जोड दिएको समितिका अध्यक्षहरू बताउनु हुन्छ ।

प्रकाशित मिति: २०१९-१२-०९ , समय : २०:३९:२० , ४ वर्ष अगाडि