मदन भण्डारी विश्वविद्यालय र कन्फ्युसियस इन्स्टिच्युट बन्ने

Enepal Patra Pvt. Ltd. , ४६३  पटक हेरिएको

प्रकृति अधिकारी

काठमाडौँ, असोज २८ गते । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि नेपालले रोजेको स्थानलाई चीनले नरुचाएको पाइएको छ । सरकारले मकवानपुरको चित्लाङमा यो विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको थियो तर चिनियाँ पक्षबाट यसबारे सकारात्मक प्रतिउत्तर पाउन नसकिएको बताइएको छ ।
नेपाल सरकारले भौतिक पूर्वाधार निर्माणका लागि चीन सरकारसँग अपेक्षा राख्दै आएको छ । भर्खरै सम्पन्न चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणमा यसबारे सैद्धान्तिक सहमति भए पनि स्पष्ट सहमति बन्न सकेन । नेपाल र चीन दुवै पक्षले आइतबार जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालले उपयुक्त स्थान छनोट गरेपछि चाँडो सहयोग पु¥याउने वचनबद्धता व्यक्त गरिएको उल्लेख छ ।
विश्वविद्यालयका लागि चीनको तर्फबाट बन्ने कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा छलफल गर्ने सहमति भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विकास समितिका पदाधिकारीहरूले चिनियाँ पक्षलाई चन्द्रागिरिमा लगेर टाढैबाट चित्लाङ देखाएका थिए ।
समितिका अध्यक्ष प्रा। डा। राजेन्द्रध्वज जोशीले चित्लाङ देखाउँदा चिनियाँ टोलीले तत्काल कुनै प्रतिक्रिया नदिएको बताउँदै भन्नुभयो, “पछि मात्र त्यो स्थान उनीहरूले नरुचाएको थाहा भयो । चिनियाँ पक्षले उपत्यकाबाट नजिक रहेको स्थानको अपेक्षा गरिएको पायौँ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘ड्रिम प्रोजेक्ट’का रूपमा चित्लाङमा विश्वविद्यालय बनाउने योजना रहेको छ । सुरुमा एसियाली विकास बैङ्कको सहयोगमा इन्जिनियरिङ विश्वविद्यालय स्थापना गर्ने योजना बनाइए पनि पछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । कुल ७४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय रूपमा अब्बल विश्वविद्यालय बनाउने योजनाअनुरूप मन्त्रालयले काम गरिरहेको छ । हाल यो विश्वविद्यालयसम्बन्धी विधेयक संसद्को समितिमा छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहालले सो विश्वविद्यालय स्थापनाका लागि सहयोग गर्न चीन सरकार इच्छुक नै रहेको पाइएको बताउँदै थप्नुभयो, “छलफल अगाडि बढ्नेछ । सकारात्मक सहमति हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।”
यसैबीच मित्रराष्ट्र चीनको सहयोगमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरिने भएको छ । चीनका राष्ट्रपति सीको दुईदिने राजकीय भ्रमणका अवसरमा आइतबार नेपाल र चीनबीच इन्स्टिच्युट स्थापना गर्ने सहमति भएको हो । हस्ताक्षर भएको समझदारीपत्रको १३औँ बुँदामा सो उल्लेख छ ।
यसअघि काठमाडौँ विश्वविद्यालयमा कन्फ्युसियस सेन्टर र कलङ्कीको एलआरआई स्कुलमा कन्फ्युसियस क्लास स्थापना भइसकेको छ । ती सेन्टर र क्लासबाट बर्सेनि थुप्रै नेपाली विद्यार्थीले औपचारिक वा अनौपचारिक रूपमा चिनियाँ भाषा सिक्दै आएका छन् ।त्यसबाहेक त्रिभुवन विश्वविद्यालयले चीन सरकारको सहयोगमा नेपाल–चीनको परम्परा, भूगोल, संस्कृति आदिका बारेमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले ट्रान्स हिमालय रिसर्च सेन्टर स्थापना गरेको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायअन्तर्गत स्थापित सो सेन्टरले हालसम्म एउटा सम्मेलन मात्र गर्न सकेको छ भने अध्ययन अनुसन्धानसम्बन्धी कुनै कार्य हुन सकेको छैन ।
सचिव दाहालले त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापनापछि नेपाली विद्यार्थीले चीनमा गएर चिनियाँ भाषा सिक्ने अवसर पाउने बताउनुभयो । त्रिवि विश्वभाषा क्याम्पसमा चिनियाँ भाषाको औपचारिक अध्ययन गर्ने विद्यार्थीलाई दुई वर्षको अध्ययनपछि चीनमा इन्टर्नसिपमा एक वर्षका लागि अध्ययनको अवसर प्रदान गरिनेछ । बर्सेनि कति विद्यार्थीले यस्तो अवसर पाउने छन् भन्ने यकिन जानकारी भने उपलब्ध हुन सकेन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटाका अनुसार कन्फ्युसियस इन्स्टिच्युटमार्फत चिनियाँ भाषा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई आतेजाते र त्यहाँ रहँदाको सम्पूर्ण खर्च व्यहोरिनेछ । उहाँले सोही इन्स्टिच्युटमार्फत चिनियाँ विद्यार्थीहरू पनि नेपालमा आई नेपाली भाषा अध्ययन गर्ने बताउनुभयो ।
दशैँअघि चीनको युनान मिन्जु विश्वविद्यालयबाट १० जना चिनियाँ विद्यार्थी स्नातक तहमा विशेष नेपाली विषयको अध्ययन गर्न नेपाल आइपुगेका छन् । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्रा। डा। शिवलाल भुसालले उनीहरूलाई विश्वभाषा क्याम्पसमा अध्ययनको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।
सो सङ्कायका स्नातकोत्तर तहका विद्यार्थीले तीन महिना चीनमा गई अध्ययन गर्न पाउने व्यवस्था विगत केही वर्षदेखि गरिँदै आएको छ र यसअन्तर्गत बर्सेनि १५ देखि २० जना नेपाली विद्यार्थीले चौथो सेमेस्टरको तीन महिना चीनमा रही शोधपत्र तयार गर्ने अवसर पाउँदै आएका छन् ।

source : gorkhapatra

प्रकाशित मिति: २०१९-१०-१५ , समय : ११:४०:३८ , ४ वर्ष अगाडि