गुरूकुलमा आकर्षण बढ्दै तर स्रोत साधन अभावमा गुरूकुलहरू संकटमा

hari , ४३०  पटक हेरिएको

लेटाङ,२७ चैत । गाउँघरमा गुरू पुरोहितको अभाव हुन थालेपछि पछिल्लो समय गुरूकुल शिक्षा प्रतिको आकर्षण बढेको छ। तर,पूर्वीय धर्मशास्त्र अनुसार गुरूकुल शिक्षा निशुल्क पढाउने बैदिक परम्परा रहेकोले गुरूकुल सञ्चालनमा भने समस्या हुने गरेको छ ।
मोरङको लेटाङ ९ जाँते स्थित बैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठमा २६ जना ब्राम्हण समूदायका बाल बटुकहरू गुरूकुल शिक्षा लिइरहनु भएको छ । सरकारी सहयोग बिना नै सञ्चालन भएको विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थी पढाई आधाउधु नपार्दै ब्यवासायिक हुने गुरूपुरोहित हुने गरेका छन् ।कक्षा ४ सम्मको औपचारिक शिक्षा अध्यापनको स्वीकृति प्राप्त गरेको विद्यापीठले औपचारिक शिक्षासँगै चण्डी,रुद्री,वेद,गीता,अमरकोष,न्याय, भाषा र ब्याकरण पढाउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक एकराज भट्टराईका अनुसार स्थानीय शिक्षाप्रेमीहरूले ६ कट्ठा जग्गादान दिनु भएपछि सोही जग्गामा विद्यापीठ सञ्चालनमा आएको हो । २०६६ सालमा जाातेबासीले जाँतेमा मानव बसोवास भएको शताब्दि वर्ष पुरा भएको अवसरमा महापुराण लगाए । सोही स्थानमा जन्मिनु भएका पूर्वीयशास्त्रका ज्ञाता स्वर्गीय खेमराज केशवशरणले वाचन गर्नु भएकोे महायज्ञबाट जग्गा र नगद सङ्कलन भयो । खेमराज केशवशरणले नै गुरूककुल स्थापनाका लागि जग हालिदिनु भएपछि त्यसैलाई निरन्तरता दिएको स्थानीय अम्बकाप्रसाद अधिकारीले बताउनु भयो । खेमराज केशवशरणले निशुल्क पुराण वाचन गरिदिनु भयो–जसले गर्दा डेढ बिगाहा जमीन र १३ लाख रुपियाँ जम्मा भयो । सोही खर्चले गाउँमा मन्दिर निर्माण र गुरूकुल सञ्चालन गरिरहेको अधिकारीको भनाई छ ।
झण्डै १० कट्ठा जग्गामा बनेका ४ वटा साना साना भवनमा विद्यार्थीहरू आवासीय रुपमा संस्कृतको आधारभुत ज्ञान लिइरहेका छन् । सञ्चाक समितिका सदस्य समेत रहनु भएक अधिकारीले भन्नुभयो–खानका लागि स्थानीयले प्रदान गर्ने मुष्ठिदानले पुग्छ । गुरूहरूलाई तलव दिन जहिल्यै धौंधौं पर्छ । ३ जना शिक्षकहरूलाई नियमित तलव दिने स्रोतको अभाव भएकोले थप आउने विद्यार्थीलाई रोक्नु परेको उहाँको भनाई छ ।
लेटाङ नगरपालिका र महर्षि फाउण्डेसनले विद्यापीठलाई सहयोग गरेका छन् । तर, त्यो प्रर्याप्त हुँदैन । प्रधानाध्यापक एकराज भट्टराईले भन्नुभयो– संस्कृत पढेर पनि प्राविधिक धारमा जस्तै दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । सरकारले पनि सहयोग गर्ने हो भने संस्कृत पढ्न भारत गइरहनु पर्दैन । उहाँले संस्कृत भाषा सबैभाषको गुरू भएर पनि नेपालमा संस्कृत पढ्ने र पढाउनेको महत्व नरहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ११:४१:१६ , १ वर्ष अगाडि