एसईईको परीक्षाफल प्रकाशित

Enepal Patra Pvt. Ltd. , १०६७  पटक हेरिएको

काठमाण्डौ १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसंगै आज नै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको हाे ।

२०७६ सालको एसईई परिक्षा गत चैत्र ६ गते हुने तयारी भएकोमा कोभिड १९ को कारण भएको लकडाउनले गर्दा एकदिन अघि परिक्षा स्थगित भएको थियो । कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएपछी भएको निरन्तर लकडाउनको कारण परीक्षा नहुने भएपछि विद्यालयलाई आन्तरिक मूल्यांकनको लागि स्विकृती दिइएको थियो ।

त्यसै आधारमा ४ लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरीएको बोर्डका अध्यक्ष प्रा‍. डा. चन्द्रमणि पौडेलले बताएका छन । २०७६ को एसइईका लागि ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थीले फारम भरेकोमा करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्डले जनाएको छ । प्रकाशित भएको एसईई नतिजा टेलिफोन, एसएमएस र वेभसाइटमा हेर्न सकिनेछ । नतिजा थाहा पाउनका लागी टेलिफोनबाट नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

यस्तै, एसएमएसबाट समेत नतिजा थाहा पाउन सकिन्छ । त्यसको लागि नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ । यो संगै माध्यमिक शिक्षा परीक्षा कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव विकास केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर समेत नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेभसाइटमा जन्म मिति र सिम्बोल नम्बर राखेर ग्रेड तथा स्तरीकृत अंक (जिपिए) हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०८-१७ , समय : १९:१९:४३ , ४ वर्ष अगाडि