एक दशकदेखि शहीदको सालिक ढाकिएकै अवस्थामा

Enepal Patra Pvt. Ltd. , ६८५  पटक हेरिएको

–कृष्ण न्यौपाने

दमौली, १६ माघ (रासस): तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा निर्माण गरिएको शहीद स्मारक अलपत्र अवस्थामा छ । विसं २०६३ मा निर्माण गरिएको शहीद पार्क सम्बन्धित निकायको वेवास्ताका कारण अलपत्र परेको हो ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा २०१८ सालमा शमशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले तनहुँको कोत्रेमा शहादत प्राप्त गरेपछि उहाँहरुको स्मरणमा २०६३ सालमा पुलिमराङमा शहीद स्मारक निर्माण गरिएको हो ।

विसं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पुलिमराङ भ्रमणको क्रममा उक्त स्थानमा शहीद स्मारक र पार्क बनाउन कोइरालाकै अग्रसरतामा शहीद स्मारक निर्माण समिति गठन गरिएको स्मारक निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले बताउनुभयो । तत्कालीन समयमा पार्क र स्मारक निर्माणका लागि जग्गा खोज्ने क्रममा केही अलमल भएपछि २०६३ सालमा मात्र स्मारक निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । शहीद पार्क र स्मारक निर्माणका लागि कूल रु एक करोडको लागत अनुमान गरिए पनि सो बराबरको रकम प्राप्त नहुँदा स्मारक निर्माणकार्य अलपत्र छ ।

शहीद स्मारकमा २०६६ सालमा पुलिमराङका ६ शहीदको अर्धकदको सालिक राखिएको भए पनि सालिक ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको सालिक राखिएको स्मारकस्थलको भवन जीर्ण भएका कारण सो भवन र स्मारकको उद्घाटन गर्न नसिकएको गुरुङले बताउनुभयो । स्मारक निर्माणका लागि हालसम्म रु २५ लाख खर्च भएको छ । बजेट अभावले अन्य काम गर्न नसकिएको स्थानीयवासी भवीश्वर गुरुङले बताउनुभयो । हालसम्म शहीदको सालिक ढाकेर राख्नुपर्दा आफूहरुलाई दुःख लागेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “राज्यले शहीदको सम्मान गर्ने भन्छ । यहाँ त शहीदको झन् अपमान पो गरिएको छ । शहीद स्मारकको काम सम्पन्न गर्न सकेमा मात्र शहीदको सम्मान भएको ठानिनेछ ।” व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत गुरुयोजना निर्माण गरी शहीद स्मारक र पार्कको संरक्षण गरिने बताउनुभयो ।

व्यास नगरपालिकाले स्मारक निर्माणका लागि गत आर्थिक वर्षमा रु १८ लाख तथा चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ । संरचना बलियो नभएकाले पुनः गुरुयोजनामार्फत नयाँ संरचना निर्माण गरी पार्क र स्मारकको संरक्षण गर्ने योजना रहेको न्यौपाने बताउनुहुन्छ ।

प्रकाशित मिति: २०१९-०१-३० , समय : १०:५३:३९ , ५ वर्ष अगाडि