Niroj Dhakal , ९ पटक हेरिएको
सुनसरी — सुनसरीको बर्जु गाउँपालिका वडा नं. २ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी आठ दिने तालिम सञ्चालन भइरहेको छ।
स्थानीय रामसीता माध्यमिक विद्यालयको अपाङ्गता स्रोत शिक्षा भवनमा सञ्चालित सो तालिममा विभिन्न वडामा गठित ‘मिलिजुली समूह’ का २२ जना (७ जना पुरुषसहित) को सक्रिय सहभागिता रहेको छ। तालिमको सहजीकरण सहजकर्ता आकृति रानी फुयालले गरिरहनुभएको छ।
सहारा नेपाल र ह्याबिट्याट फर ह्युमानिटी नेपालको साझेदारीमा सञ्चालित ‘होम्स नेपाल परियोजना’ अन्तर्गत यो तालिम आयोजना गरिएको हो। कार्यक्रमका जिल्ला अधिकृत लक्ष्मी भण्डारीका अनुसार, तालिममा सहभागीहरूलाई बचतको महत्व, बिमा, पारिवारिक बजेट तथा आम्दानी–खर्चको विश्लेषण गरी सही वित्तीय निर्णय लिन सक्ने र आवश्यकता तथा चाहनाबिच अन्तर छुट्याउन सक्ने व्यवहारिक ज्ञान प्रदान भइरहेको छ।
तालिमको अवलोकन गर्दै विद्यालयका प्रधानाध्यापक सुर्यनारायण मेहता र गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख मन्जु कुमारी शर्माले यो तालिम लक्षित वर्गका लागि अत्यन्तै प्रभावकारी र उपयोगी रहेको बताउनुभयो।
५ जिल्लाका २० पालिकामा परियोजना सञ्चालन
विपन्न तथा सीमान्तकृत महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालित यो परियोजनाले कोशी र मधेश प्रदेशका ५ जिल्ला (सुनसरी, उदयपुर, सिरहा, सप्तरी र धनुषा) का २० वटा पालिकामा काम गरिरहेको छ। परियोजनामार्फत सम्बन्धित समुदायमा वित्तीय साक्षरता, आवास कर्जा, हरित ऊर्जा कर्जा तथा आवास बिमासम्बन्धी पहुँच र प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको जिल्ला अधिकृत भण्डारीले जानकारी दिनुभयो।
सुनसरी जिल्लामा भने बर्जु, हरिनगरा, गढी र कोशी गाउँपालिका गरी चारवटा पालिकामा यो परियोजना सञ्चालनमा रहेको छ।
हाल सञ्चालनमा रहेको उक्त आठ दिने तालिम आगामी मङ्गलबार (२० गते) समापन हुने जनाइएको छ।
प्रकाशित मिति: २०२६-१०-०२ , समय : २३:४०:५८ , १ घन्टा अगाडि