ईनेपालपत्र संबाददाता , ६ पटक हेरिएको
मुम्बई, १० साउन । बलिउड अभिनेता रणवीर कपुर र कन्नड स्टार यश ठूलो पर्दामा तहल्का मच्चाउन तयारी अवस्थामा रहेका छन्।
यी दुवै कलाकारको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘रामायण’ यसै दीपावलीमा प्रदर्शन हुने तय भएको छ। प्रशंसकहरू यसको ट्रेलरको व्यग्र प्रतीक्षा गरिरहँदा ‘रामायण’ को टोलीले सान डिएगो कमिक कनमा चलचित्र सम्बन्धी एक प्यानल छलफलमा सहभागिता जनाएको छ।
सो कार्यक्रममा रणवीर कपुरले ‘रामायण’ मा भगवान् रामको भूमिका र सो भूमिकाको प्रस्ताव पाउँदाको अनुभवबारे कुरा साझा गरेका छन । उनले उक्त भूमिकाको प्रस्ताव पाएपछि आफू निकै सशङ्कित र द्विविधामा परेको कुरा खुलाए। यसैबीच, यशले रणवीर कपुरको प्रशंसा गरेका थिए ।
‘रामायण’ का निर्माता नमित मल्होत्रा र निर्देशक नितेश तिवारी पनि रणवीर कपुर तथा यशसँगै यस कार्यक्रममा सहभागी भए। कार्यक्रमका क्रममा भगवान् रामजस्तो प्रतिष्ठित पात्रलाई पर्दामा उतार्ने विषयमा रणवीरको धारणाबारे सोधिएको थियो।
यसमा प्रतिक्रिया दिँदै रणवीरले भने, ‘जब मलाई यो चलचित्रको प्रस्ताव आयो, तब ममा धेरै शंका र डर थियो। म सोच्थें कि म यसका लागि योग्य छु कि छैन अर्थात् म यसलाई सफलतापूर्वक निभाउन सक्छु वा सक्दिन तर त्यो शंका चाँडै नै कृतज्ञतामा बदलियो। मलाई लाग्छ, यो मेरो जीवनको एउटा ठूलो अवसर थियो, यो एक वरदान र नैतिक जिम्मेवारी दुवै थियो।’
भगवान् रामलाई साहस, करुणा, क्षमा र सत्यको प्रतीकका रूपमा वर्णन गर्दै रणवीर कपुरले थपे, ‘४,००० वर्षभन्दा बढी समयदेखि भगवान् राम विश्वभरका मानिसहरूको अन्तस्करणका रक्षक रहँदै आउनुभएको छ। रामायण हामी सबैको मन मस्तिष्कमा गहिरोसँग बसेको छ। भगवान् रामको प्रतिनिधित्व गर्नु आफैँमा एउटा असाधारण कुरा हो।’
यसैबीच, ‘रामायण’मा रणवीरले निर्वाह गर्न लागेको भगवान् श्रीरामको भूमिकाबारे बोल्दै यशले भने, ‘संसारमा कसैले पनि भगवान् रामको चरित्र निर्वाह गर्ने क्षमता आफूमा छ भनेर दाबी गर्न सक्दैन। रणवीरले जे भनेका छन्, त्यसले धेरै कुरा बोल्छ। भगवान् रामको भूमिका निभाउनु कुनै पनि हालतमा सजिलो काम होइन। रणवीर एक उत्कृष्ट अभिनेता हुन् र यो भूमिकाका लागि उनले गरेको कडा परिश्रमप्रति म उच्च सम्मान व्यक्त गर्दछु।’
यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने नमित मल्होत्रा र नितेश तिवारीले ‘रामायण’ लाई दुई भागमा निर्माण गर्दैछन्। नमितले हालै खुलासा गरे अनुसार दुवै भागको कुल बजेट ४ हजार करोड रुपैयाँ रहेको छ। यो भारतीय चलचित्रको इतिहासमै सबैभन्दा महँगो चलचित्र बन्ने निश्चित छ।
प्रकाशित मिति: २०२६-०७-२६ , समय : ११:०४:४० , १ घन्टा अगाडि