आज चासोक तङ्नाम

हाम्रो समाचारदाता , १४१  पटक हेरिएको

काठमान्डाै, १० पुस ।  चारदशक अघिसम्म पूर्वी नेपालमा बसोबास गर्ने प्रकृतिपूजक याक्थुङ समुदायमा चासोक तङ्नाम चर्चाको विषय थिएन । भारतीय संस्कृतिको अतिक्रमणले गाँजेको र शाहवंशको उदयपछि राणा र पञ्चायतकालभरि यसबारे कुनै अभियान चल्न सक्ने कुरा पनि भएन ।

आफ्ना मौलिक भाषा, लिपि, कला, संस्कृतिदेखि मुन्धुम र गीत संगीत बिर्सने क्रममा रहेका बेला २०४८ सालमा भएको व्यवस्था परिवर्तनले पूर्वका याक्थुङ लिम्बूको मस्तिष्क हल्लायो । यसपछि बिस्तारै परम्परागत मौलिक कला, संस्कृतिका साथै मुन्धुमको खोजी, यसको अध्ययन, अनुसन्धान र प्रचारात्मक कामहरू हुनथाले ।

उपभोक्तावादी संस्कृतिलाई भूमण्डलीकरणले आधुनिक सूचनाप्रविधि मार्फत गाउँगाउँसम्म भित्र्याउँदै गर्दा चालीसको दशकसम्म पनि पूर्वका याक्थुङ लिम्बूले चासोक तङ्नामलाई व्यक्तिगत रूपमा घरघरमा मनाउने गरेका थिए । घरघरमा मनाउने चलनलाई निरन्तरता दिएकै कारणले अहिले चासोक तङ्नाम लिम्बूवानी क्षेत्रका लागि सामूहिक र साझा चाड बन्न पुगेको छ ।

राज्यले गैर याक्थुङका धर्म, संस्कृति अनुसारका परम्परागत चाडबाडलाई प्राथमिकता दिए जस्तै चासोक तङ्नामलाई पनि पहिचान गरेर चाडका रूपमा मनाउन प्राथमिकता दिएको भए सम्भवतः दशैं(तिहार हिन्दुको र चासोक तङ्नाम प्रकृतिपूजक याक्थुङ लिम्बूको मात्रै हो भनेर अहिलेसम्म पनि बहस हुँदैनथ्यो ।

राज्यले नेपालमा बस्ने सबैको नागरिकतामा नेपाली भनेर चिनायो । तर तिनै नागरिकले मनाउने धार्मिक र सांस्कृतिक चाडलाई भने यो हिन्दुको, यो क्रिश्चियनको, यो बुद्धिष्टको, यो मुस्लिमको भन्दै जातीय र धार्मिक परम्परागत संस्कृतिमा आधारित विभाजन र विभेद गर्‍यो ।
राज्यले नागरिकतामा दिएको पहिचान र परिचयमा नेपाली भन्ने तर तिनै नागरिकले आफ्नो जातीय, धार्मिक र सांस्कृतिक रूपमा परम्परागत तबरले मानिल्याएको र थामिल्याएको चाडपर्वलाई भने नेपालीको भनेर मान्यता दिने काम गरेन ।

यसो नगर्दा सांस्कृतिक पहिचानको रूपमा पूर्वका याक्थुङ समुदायका लागि चासोक तङ्नाम सामूहिक र संस्थागत रूपमा बिस्तारै उदाएको हो । जुन चाडलाई पहिले आफ्नै तरिकाले बालीनाली पाकेको समय पारेर व्यक्तिगत रूपमा फेदाङ्माद्वारा फलाक्दै घर-घरमा मनाउने गरेका थिए ।

याक्थुङ मुन्धुममा आधारित चासोक तङ्नाम

पचासको दशकसम्म पूर्वमा चासोक तङ्नाम दशैं(तिहारको जस्तो ‘ब्राण्ड’ नाम बनेको थिएन । सांस्कृतिक जागरणको रूपमा स्व(पहिचान स्वरुप याक्थुङ लिम्बू समुदायले धरानको चुम्लुङ हिममा सामूहिक चाड बनाउने प्रयास गरे( भारतीय हिन्दु क्यालेण्डरले तय गरेको तिथिमिति अनुसार मंसिरे पूणिर्माका दिन ।

जबकि याक्थुङ मुन्धुमले भारतीय हिन्दु क्यालेण्डर चिन्दैन । तर सांस्कृतिक र धार्मिक प्रभावमा परेर सोही अनुसार मान्दै आए । अन्नबाली पाक्ने समय कात्तिक, मंसिर र थन्क्याउने समय पुस महीनामा याक्थुङ लिम्बूले जुनसुकै बार र समयमा यो चाड मनाउँदै आएका थिए ।

यसरी मनाउँदै आएको परम्परामा अरू समुदायको पनि एकीकृत बिदा दिने निर्णय राज्यले गरेपछि मंसिरे पूणिर्माको दिन उँधौली चाड भनेर तोक्दा नयाँ बेथिति थपियो । जबकि चासोक तङ्नाम याक्थुङ मुन्धुममा आधारित हो ।

मुन्धुम अनुसार खेतबारीमा अन्नबाली पाकेर थन्क्याउँदै गर्दा पैयूँ फुलेर ढकमक्क हुन्छ । पारिलो घामको न्यानोमा तितेमाछा र चराचुरुङ्गीहरू जाडो छल्न औलतिर झरेर ऋतु परिवर्तनको संकेत दिन्छन् । हो त्यसैबेला याक्थुङ लिम्बू समुदायले आफूले मानिल्याएको मुन्धुमी परम्परा वा निर्देशन अनुसार यो चाड मनाउँछन् ।

यसमा सबैभन्दा पहिले जसले अन्नबाली लगाएर खेतीपाती गर्न र पकाई तुल्याई गरी खान सिकायो त्यसैलाई पाकेको अन्नबाली समर्पण गर्ने गर्छन् । अर्थात् प्रकृतिलाई चढाउँछन् । त्यसपछि मात्र आफूले खाने गर्छन् ।

मुन्धुमको व्याख्या, विश्लेषण र वर्णनलाई अध्ययन गर्दा चासोक तङ्नामले याक्थुङ समुदायले ढुंगे युग र जंगली युग पार गर्दै कृषि युगमा प्रवेश गरेको समयको बोध गराउँछ । मुन्धुममा आदिम महिला जो अग्रज, जानकार, ज्ञानी र याक्थुङ सभ्यता निर्माणका लागि इम्बिरी याङ्धाङ्वा थिइन् । जस अनुसार, हालको तमोर नदी आसपासमा पर्ने सांघुयक्मा कोपियक्मा (ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका) मा सहअस्तित्वको ज्ञान सिकाउँदै आएकी सिकेरा एक्थुक्नामाले पारामा (वनकोदो), पयामा (कागुनो), धान छरेर खेती गर्न सिकाइएको उल्लेख छ । अझै पनि मुरिङला खारिङ डाडा जाने बाटोमा सिकेरा एक्थुङ्माले अन्नबालीको बीउबिजन छरेको नेम्भोयाक्वा तेसुमादेन ठाउँ नै छ ।

यस्तै पारामा, तक्मारु, घैया, धान, कोदो, कागुनोको बीउबिजन छरेर पाकेपछि तागेरा निङवाफुमाङ युमामाङ (प्रकृति १) लाई अर्पण गरिएको पहिलो ठाउँ हो नेम्भोयाक्वा तेसुमादेन । सोही ठाउँमा पहिलो पटक याक्थुङ लिम्बूका आदिम पूर्वज (येहाङ) र उनीहरूका सन्ततिले छरपोख गरेर खेतबारीमा पाकेको अन्नबाली प्रकृतिलाई अर्पण गरेर मात्र आफूहरूले खाने परम्परा सुरु गरे जुन चलन पछि संस्कृतिको रूपमा विकास भयो ।

त्यसैले याक्थुङ लिम्बू समुदायले अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाएर मूल रूपमा पूजा गर्ने र चोखो नयाँ अन्न चढाउने गर्दछन् । प्रकृति वा अन्नबालीको खेती गर्न सिकाउने मूल पुर्खालाई सम्झेर मनाउने चासोक तङ्नाम वास्तवमा अन्नबाली भित्र्याउँदाको उत्सव मात्र नभएर कृषि युगसँग जोडिएको मुन्धुमी विरासत पनि हो ।

पछिल्लो समयमा चासोक तङ्नामले पारिवारिक, सांस्कृतिक र सामाजिक महत्वका साथसाथै धार्मिक महत्व पनि बोक्न थालेको छ । याक्थुङ लिम्बू जातिको पहिचान र सांस्कृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिबीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा भूमिका निर्वाह गरेको छ ।

याक्थुङ मुन्धुमको विस्तृत अध्ययन गर्दा हरेकमा सम्पूर्णता खोज्छ । सम्पूर्णता भनेको मुन्धुम दर्शनको प्रमुख सौन्दर्य हो । आफूभन्दा पहिलो वा ज्येष्ठ वा अन्नबाली खेतीपानी गर्न सिकाउने, आगोमा पकाएर खान सिकाउनेलाई नदिई खानु धोका हो भन्छ मुन्धुम ।

यसरी प्रकृतिलाई सबैभन्दा पहिले नचढाई ९अर्पण नगरी० खाएमा रोगव्याधले सताउने, अशुभ हुने, अनिष्ट हुने, गलगाँड निस्कने आदि विश्वास रहिआएको छ । याक्थुङ लिम्बू समुदायमा मकै, धान, कोदो पाकेपछि कुनै पनि जीवजन्तुले जुठो नलगाई वा खानु अगाडि चोखो रूपमा प्रकृतिलाई चढाउनुपर्छ ।

प्रकृतिलाई चढाउनुअघि नै खानु, जुठो लगाउनु भनेको अशुद्ध बनाउनु हो । अर्थात् अपूर्ण कार्य गर्नु हो । अझै पनि के मान्यता छ भने याक्थुङ लिम्बूले आफ्नो वा अर्काको खेतबारीमा पाकेको अन्नबाली प्रकृतिलाई नचढाई मुखमा लगाउनुहुँदैन ।

नयाँ अन्नबाली उपभोग गर्न अग्रज वा पुर्खा पितृ ९पितृ( पुरुषसत्ता होइन० वा प्रकृतिसँग अनुमति माग्ने अनुष्ठान वा पूजालाई चासोक भनिन्छ । र तङ्नाम भनेको चाड वा उत्सव हो । चासोक तङ्नाम याक्थुङ लिम्बू समाजको सामाजिक एकता, प्रकृति र एकापसको सम्पूर्णतामा डोर्‍याउने सामाजिक र सांस्कृतिक चाड हो ।

चासोक तङ्नाममा याक्थुङ लिम्बू समुदायले विधिवत् पूजा अनुष्ठान गर्दै मौलिक भेषभूषामा सजिएर भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसक्रममा साइनो नलाग्ने तरुनी-तन्नेरीबीच एकापसमा हात समाएर परम्परागत नाचगानहरू धाननाच (या लाङ), च्याब्रुङ नाच (के लाङ), पालाम गाउने गरिन्छ ।

 

यसरी ख्याली र हाक्पारेका लयमा जीवन र जगतमा हुने प्रेम र विरहका कथा सुनाउँदै मनोरञ्जन गर्ने गरिन्छ । सोही अवसरमा याङ्वेन (झ्याउ), कोदोको जाँडको तोङ्बा र तीनपाने रक्सी, चाम्रे, फिलिङ्गेको अचार, किनेमाको अचार, सेर्गेङ जस्ता मीठा-मीठा परिकार बनाएर छिमेकीलाई हुक्वा (कोसेली) को रूपमा दिने गरिन्छ ।

चासोक तङ्नामकै अवसरमा याक्थुङ लिम्बूका आदिम खेलाडी पोरोक्मी यम्भामीलाई स्मरण गर्दै लि आप्मा (गुलेली हान्ने), पक्लुङ लेप्मा (छेलो हान्ने) जस्ता खेल प्रदर्शन गर्छन् । मुन्धुममा वणिर्त याक्थुङ सभ्यता निर्माणमा प्रमुख भूमिका खेल्ने विवेकले भरिपूर्ण आदिम स्त्री युमालाई सम्झेर थाक् थाक्मा (तान बुन्ने) गर्छन् ।

उक्त अवसरमा तरुनी (तन्नेरीहरूको फुङ्वा चाङ्मा (जीवनरूपी फूल जगाउने) मुन्धुमी कर्म पनि गर्दछन् । किशोर(किशोरीहरू विस्तारै शारीरिक, मानसिक र बौद्धिक रूपमा परिपक्वतातर्फ उन्मुख हुँदै गरेको संकेतको रूपमा चाङ्वान् लेक्मा (विशेष विधि-विधानका साथ वस्त्र अर्थात् तागाबा, मेख्ली, गरगहना लगाइदिने) सुअवसरको रूपमा पनि यो चाडलाई याक्थुङ लिम्बूहरूले लिने गर्दछन् ।

प्रकृति पूजक याक्थुङ लिम्बूको मुन्धुमले स्वर्ग, नर्कको कल्पना गर्दैन । अनेक अलौकिक शक्ति भएको ईश्वर वा भगवानको पनि कल्पना गर्दैन । र, कुनै स्थायी मूर्ति भएको भव्य मन्दिर, मस्जिद, गुम्बा वा चर्च (भगवान् बस्ने स्थायी घर) जस्ता घरको कल्पना पनि गर्दैन ।

यसर्थ याक्थुङ लिम्बुले चासोक तङ्नाम मनाउँदा आफ्नो घरमा वा नजिकै बारीमा अस्थायी पूजा स्थल बनाएर फेदाङ्माले विधि अनुसार फलाकी सकेपछि फेरि सम्याइन्छ । याक्थुङ लिम्बूको मुन्धुम अनुसार पूर्वजहरूले आफू बसेको र बाँचेको समय र स्थानबाट आफ्ना इन्द्रियले जे जे देखे, पाए, अनुभूत गरे त्यसैलाई जीवन र जगतको रक्षकको रूपमा कल्पना गरे ।

त्यसैले हावा, पानी, आकाश, जून, घाम, तारा, बादल, बिजुली, झरी, वर्षा, पहाड, पर्वत, खोला, नदी, गुफा, वनजंगल, रूख, बोटबिरुवा, पशुपन्छी, जीवजन्तुलाई नै मान्ने गरेकाले प्रकृति पूजक भनिएको हो ।

चासोक तङ्नाम अर्थात् पाकेको अन्नबाली प्रकृतिलाई नै पहिले चढाएर मात्र खाने चलनको सुरुवात याक्थुङ सभ्यता निर्माणकालमा भएको मानिन्छ । कतिपयले यो चलनको निर्माणकाल करिब ७ देखि १० हजार वर्ष अघि भएको पनि मानेका छन् ।

online khabar बाट लिईएकाे ।

प्रकाशित मिति: २०२३-१२-२६ , समय : ०९:०३:५३ , ६ महिना अगाडि