अपाङ्गता स्रोत कक्षामा लायन्स क्लब अफ विराटनगर रेन्बोले मनायो तेस्रो स्थापना दिवस।

Niroj Dhakal , १०  पटक हेरिएको

‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै ‘Nothing Impossible’ भन्ने थिमसहित लायन्स क्लब अफ विराटनगर रेन्बोले आफ्नो तेस्रो स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ।

क्लबको तेस्रो स्थापना दिवसको अवसरमा बर्जु गाउँपालिका–२ स्थित राम–सीता माध्यमिक विद्यालयको अपाङ्गता स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। साथै, सोही गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता तालिम समेत सञ्चालन गरिएको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष लियो लायन आकृति रानी फुयलको अध्यक्षता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरज मेहता, शिक्षक–शिक्षिका, बर्जु गाउँपालिकाका विभिन्न स्थानबाट सहभागी अपाङ्गता भएका व्यक्ति तथा क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै क्लब सचिव लियो लायन अञ्जली चौधरीले स्थापना दिवसलाई केवल उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।

कार्यक्रममा बोल्दै क्लब अध्यक्ष लियो लायन आकृति रानी फुयलले स्थापना दिवसका नाममा तडकभडकपूर्ण कार्यक्रम आयोजना गरी फजुल खर्च बढाउनुको सट्टा लायन्स इन्टरनेशनलको सेवा तथा मानवीय सहयोगको उद्देश्यअनुरूप आवश्यकता पहिचान गरी सहयोग गर्नुपर्ने बताइन्।

उनले राम–सीता माध्यमिक विद्यालयको अपाङ्गता स्रोत कक्षाको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर विद्यार्थीहरूका लागि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको जानकारी दिइन्। साथै, अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सचेत तथा सक्षम बनाउने उद्देश्यले वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको उनको भनाइ थियो।

अध्यक्ष फुयलले स्थापना दिवसलाई केवल केक काट्ने वा उत्सव मनाउने दिनका रूपमा नभई समुदायमा सकारात्मक प्रभाव पार्ने सेवा र सहयोगको अवसरका रूपमा मनाउनुपर्छ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको बताइन्।

कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरूमा वित्तीय ज्ञान तथा आर्थिक सचेतना अभिवृद्धि हुनुका साथै स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक तथा खेलकुद गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लायन्स क्लब अफ विराटनगर रेन्बोले आगामी दिनमा पनि ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै सामाजिक सेवा, अपाङ्गता समावेशिता तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-३० , समय : १७:४४:०० , १ घन्टा अगाडि