कृषिमा आत्मनिर्भर मात्रै होइन कृषि उत्पादनलाई विदेशमा निर्यात गर्नु पर्छः अध्यक्ष तिमिल्सिना

Enepal Patra Pvt. Ltd. , ५३०  पटक हेरिएको

दमौली, ११ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन् । जैविक विविधता संरक्षण समितिको आयोजनामा तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा बिहिबारदेखि शुरु भएको पुर्कोट कृषि जैविक औद्योगिक मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कृषिमा आधुनिकीकरण र व्यवसायीकरण भएमात्रै कृषिबाट आत्मनिर्भर बन्न सकिने बताए ।

उनले भने, “फेरि एकपटक नेपाललाई कृषिमा आत्मनिर्भर मात्रै होइन कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने अवस्थामा पु¥याउन जरुरी छ । त्यसका लागि बोल्ने होइन काम गरेर देखाउनु पर्दछ ।”

सांसद कृष्णकुमार श्रेष्ठले निर्वाहमुखी कृषिले मात्रै आत्मनिर्भर बन्न सकिने बताउँदै व्यवसायमुखी कृषिमा अगाडि बढ्नुपर्ने बेला आएको बताए । मेला संयोजक सीताराम बजगाईंले असल गुण भएका विभिन्न प्रजातिका स्थानीय बाली संरक्षण गर्ने, स्थानीय उत्पादनलाई जोड दिँदै विविधीकरण गरी प्रयोगमा सचेतना अभिवृद्धि तथा अर्गानिक उत्पादनमा जोड दिने उद्देश्यले रहेको बताए ।

मेलामा १५० स्थानीय बालीको प्रदर्शनी तथा बिक्री वितरण, बाँसका हस्तकलाका सामग्रीको प्रदर्शनी, कृषिउपज तथा पशुपक्षीको प्रदर्शनी, स्थानीय कला, संस्कृति साथै विभिन्न झाँकीको प्रस्तुति आकर्षणका रुपमा रहेका छन् । रासस

प्रकाशित मिति: २०१९-०१-२६ , समय : ०७:५९:४६ , ५ वर्ष अगाडि