शिक्षकको विज्ञापन आगामी बैशाखमा, नयाँ पाठ्यक्रम निमार्ण गर्दै आयोग

Enepal Patra Pvt. Ltd. , ६०२  पटक हेरिएको

काठमाडौं २ पूस । शिक्षक सेवा आयोगले आगामी बैशाखभित्र तीनै तहको स्थायी शिक्षकका लागि विज्ञापन गर्ने भएको छ ।

गत असोजमा लिएको शिक्षक अध्यापन अनुमतिपत्र (लाईसेन्स)को नतिजा सार्वजनिक गरेको केहि महिनाभित्रै आयोगले शिक्षकको खुला तर्फको विज्ञापन गर्ने तयारी गरेको आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जनाकारी दिए । उनका अनुसार फागुनभित्र शिक्षक लाईसेन्सको माध्यामिक, निम्नमाध्यामि र प्राथमिक गरि तीनै तहको नतिजा सार्वजनिक भईसकेपछि आयोगले तत्काल खुला प्रतियोगितात्मक परिक्षा तर्फको विज्ञापन गर्ने तयारी गरेको छ ।

‘हामीले तहगतरुपमा पहिले माध्यामि त्यसपछि क्रमसः निम्नमाध्यामि र प्राथमिक तहको विज्ञापन गर्ने अवस्था पनि हुनसक्ला तर, अब यो लाइसेन्सको नतिजा आईसकेपछि नयाँ उम्मेदवार पनि थपिन्छन्’, सूचना अधिकारी आचार्यले एस काठमाडुसँग भने, ‘अहिले आयोगको पनि त्यहि सबैलाई समेटने योजना नै रहेको छ ।’ उनले अहिले आयोग शिक्षकको संशोधित नयाँ पाठ्यक्रम निमार्णको तयारीमा जुटेकाले कम्तिमा आगामी बैशाखभित्रमा विज्ञापन गरिने बताए ।

‘मिति नै तोक्न अलि गाह्रो नै हुन्छ जे होस् आगामी बैशाखभित्र विज्ञापन गर्ने तयारीमा आयोग लागि रहेको छ’, उनले भने, ‘अहिले संशोधित नयाँ पाठ्यक्रम अनुसार आयोग पाठ्यक्रम निमार्णको प्रक्रिया लागेको छ ।’ जतिसक्दो छिटो लाइसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी आयोग रहेको बताउँदै उनले लाइसेन्सको नतिजा सार्वजनिक हुने बित्तिकै विज्ञापन गरिने बताए ।

सूचना अधिकारी आचार्यले पहिलो चरणको परिक्षमा उत्तीर्ण हुने उम्मेदवारहरुले मात्रै दोस्रो चरणको लिखित परिक्षामा सहभागि हुन पाउने बताए । शिक्षक सेवा आयोगको संशोधित नियमावली अनुसार अब दुई सय पूर्णाङ्कको परिक्षा हुने भन्दै उनले अब पहिलो चरणको सामान्य परिक्षाले योग्य उम्मेदवार छान्न सहयोग पुग्ने बताए । ‘अहिले फेरी शिक्षक सेवाको संशोधित नियमावलीमा सामान्य परिक्षाको कुरा आयो, पहिलो चरणमा हामीले अब एक सय पूर्णाङ्कको सामान्य परिक्षा लिन्छौ’, सूचना अधिकारी आचार्यले भने, ‘यो सामान्य बस्तुगत परिक्षामा ५० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ, अनि त्यसमा उत्तीर्ण हुने उम्मेदवारहरु दोस्रो चरणको लिखित परिक्षमा सहभागि हुन पाउछन् ।’

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १०:३५:१६ , ४ वर्ष अगाडि