तिहार नजिकिँदै गर्दा पूर्वमा भारतबाट भित्रिन थाले पटका, के गर्दैछ प्रहरी

प्रशान्त निराैला , ११  पटक हेरिएको

विराटनगर , २७ अशाेज । तिहार नजिकिँदै गर्दा विराटनगरलगायत पूर्वका बजार र ग्रामीण क्षेत्रमा भारतबाट पटका भित्रिन सुरु भएको छ ।

नेपालमा उत्पादन निषेधित पटका भारतबाट सीमावर्ती क्षेत्र हुँदै चोरी तस्करीका माध्यमबाट अवैध रूपमा भित्राउने गरिएको हो । झापा र सुनसरीबाट प्रहरीले पटकाजन्य विस्फोटक पदार्थ बरामद गरेको छ ।

ब्मखभचतष्कझभलत

नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छल्दै भित्राइएका पटका प्रहरीले बरामद गरेको हो । यसले तिहार नजिकिँदै गर्दा पटकाको अवैध व्यापार बढेको प्रमाणित गर्छ । प्रहरीले भने पटका बरामद गरेर नष्ट गर्ने गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–५ बाट शनिबार करिब ४ लाख रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटका, तिहारमा प्रयोग हुने झिलिमिली बल्ब र बत्ती बरामद गरिएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए । उनका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–४ बाट पनि करिब ७३ हजार रुपैयाँभन्दा बढी मूल्यका पटका बरामद भएको छ ।

पटकाजन्य एवं विस्फोटक पदार्थ नियन्त्रणका लागि प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत सीमा क्षेत्रमा कडाइका साथ चेकजाँच गरिरहेको जानकारी पोखरेलले दिए । पटका पड्काउँदा दुर्घटनाको जोखिम पनि बढ्छ ।

पटकाका कारण तिहारमा आगलागी हुने, दृष्टि गुमाउने र कहिलेकाहीँ ज्यानै जाने घटनासमेत हुने गरेको प्रहरीको भनाइ छ । विस्फोटक पदार्थका कारण बढी जोखिम हुने भन्दै प्रहरीले त्यस्ता वस्तु नभित्राउन र नपड्काउन सबैमा अनुरोध गर्दै सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ ।

‘पटका विष्फोटक पदार्थ भएकाले यसले आगलागी र मानवीय क्षतिसमेत हुने जोखिम बढाउँछ । प्रहरीले यसविरुद्ध विशेष निगरानी बढाएको छ,’ कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने । उनका अनुसार पटका भित्राउन नदिन सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा निगरानी बढाउँदै कडाइ गरिएको छ ।

प्रहरीले पटका नभित्राउन र नपड्काउन सबैलाई आग्रह गरेको छ । ‘रमाइलो गर्ने नाममा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउँछ । वायुप्रदूषण र ध्वनीप्रदूषण अत्यधिक हुन्छ । पटकाले आर्थिक नोक्सानीसँगै पर्यावरण प्रदूषण र दुर्घटनाको सम्भावना पनि बढाउँछ,’ डीआईजी कार्कीले भने ।

पटका भित्राउँदा बर्सेनि लाखौं नेपाली रूपैयाँ भारत पुग्ने गरेको छ । ‘हरेक वर्ष पटकामा लाखौं रुपैयाँ नोक्सान हुन्छ । त्यो रकम बालबालिकाको शिक्षामा वा घरपरिवारको उपयोगी प्रयोजनमा खर्च गर्न सके साह्रै राम्रो हुन्छ । पटका सबै हिसाबले हानिकारक छ,’ उनी भन्छन् ।

कार्कीका अनुसार पटका ल्याउनु र बिक्री वितरण तथा प्रयोग गर्नु गैरकानुनी हो । तिहार नजिकिँदै गर्दा प्रहरीले सीमा क्षेत्रदेखि बजारसम्म निगरानी बढाएको उनको भनाइ छ ।

‘तिहार उत्सव र उज्यालोको पर्व हो । त्यही भएर यसलाई विस्फोटक पदार्थ र धुवाँयुक्त हुन दिन हुँदैन । दियो र बत्तीको उज्यालोले पर्वलाई सजाउन प्रहरीले सबैलाई आग्रह गरिरहेको छ,’ डीआईजी कार्की भन्छन् । स्थानीय प्रशासनले पनि पटकबाट हुने जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति: २०२५-१०-१३ , समय : ०८:५४:५१ , ८ घन्टा अगाडि