ईनेपालपत्र संबाददाता , १८ पटक हेरिएको

काठमाडौं २८ अशाेज । दशैं–तिहार जस्ता ठूला चाडबाड मनाएर छुट्टीमा नेपाल आएर फर्कनेकाे चाप बढेसँगै श्रम स्वीकृति प्रक्रियामा दलाली र कालोबजारी पुनः सक्रिय बन्दै गएको छ। विशेषगरी पुरानो काम सकेर छुट्टी मनाउन आएका र नयाँ देश जान तयारी गरेका कामदारहरु श्रम स्वीकृति (Labor Approval) लिने क्रममा ठगी र असुलीको जालोमा परिरहेका छन्।
कामदारहरूको भनाइ अनुसार अहिले वैदेशिक रोजगार विभागमा टोकनको मिति पाउन कठिन भएको छ। केही व्यक्तिहरूले ‘तुरुन्त टोकन मिलाइदिन्छौं’ भन्दै ४ हजारदेखि ५ हजार रुपैयाँसम्म अतिरिक्त रकम असुल्ने गरेको उजुरी गरिएको छ। यस्तो चलन बढ्दै गएपछि श्रम स्वीकृति लिनुपर्ने कामदार बाध्यतावश बढी पैसा तिर्न बाध्य भएका छन्।
श्रम अधिकारकर्मीहरुले सरकार र सम्बन्धित नियामक निकायलाई तत्काल कडाइका साथ अनुगमन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनका अनुसार “श्रम स्वीकृतिका लागि हुने अनधिकृत असुली र दलालीले वैदेशिक रोजगार प्रणालीमै जनविश्वास घटाउँदै लगेको छ।”
दशैं–तिहार जस्ता चाडपर्वमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अत्यधिक हुने भएकाले यस्तो समयमा श्रम स्वीकृति र टोकन प्रणालीमा पारदर्शिता र कडाइ अनिवार्य भएको सरोकारवालाहरूको भनाइ छ।
#वैदेशिकरोजगारी #श्रमस्वीकृति #कालोबजारी #दलाली #दशैंतिहार
प्रकाशित मिति: २०२५-१०-१४ , समय : ०९:३३:४५ , ३ घन्टा अगाडि