लेटाङमा सुरु भयो चासोक तङ्नाम

अभिषेक पौडेल , ३००  पटक हेरिएको

लेटाङ, २१ मंसीर। लिम्बु समुदायको महान पर्ब चासोक तङनाम आजदेखि लेटाङमा समेत हर्सोल्लासपूर्वक मनाउन सुरु भएको छ  ।

यश पर्बको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षीण कोरिया, संयुक्त राज्य अमेरिकालगायतका मुलुकहरुमा रहेका लिम्बु समुदायले जातीय भेषभुषासहित साँस्कृतिक कार्यक्रम गरी चासोक मनाउछन ।

राजधानी काठमाण्डौ सहित पूर्वी नेपालको संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङ लगायतका जिल्लामा रहेका लिम्बु बस्तीहरुमा बिभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ ।

चासोक तङ्नामको अवसरमा मोरङको लेटाङ नगरपालिकामा आज र भोलि दुई दिने कार्यक्रम आयोजना गरिएको छ । विगत वर्षहरुझैं यसवर्ष जस्तै लेटाङ ३ बाख्रा बजार नजिकै रहेको ईमाङ सिंङ चेम्जोङ स्मृति प्रतिष्ठानमा चासोक तङ्नाम पर्व हर्सोल्लासका लागि मनाईरहेको हो ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा लेटाङको आयोजनामा भईरहेको चासोक तङ्नाममा विभिन्न समुदायका जातीय झाँकीसहित मौलिक नृत्य तथा लिम्बू समुदायका राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिदैछ ।
कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका जिल्ला सभापती तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बुले गर्नुभयो । लिम्बुले यश पर्बको अवशरमा सबै नेपालीहरुलाई शुभकामना दिनुभयो । लिम्बुले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई अत्याधिक मत दिएर बिजय गराउनुभएकोमा आम मतदातालाई धन्यबाद समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा लिम्बु जातीका पुरोहित फेदाङ्बाद्वारा पाठपुजा गरी न्वागी समेत चढाईएको थियो  ।

के हो चासोक तङनाम ?

 

लिम्बू समुदायले महान चाडको रुपमा मनाउदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्राउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको  नयाँ अन्नबाली चढाउने पूजा  हो भने तङनाम भनेको पर्व  हो ।

लिम्बु जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषियुग शुरु हुनुअघि लिम्बूहरुका आदिम पूर्खा सावा येत्हाङहरुले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रर्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरुले पेना/माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउविजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए ।यसरी धान र अन्नका वीउ विजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठमो खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर वीउ विजन रोपी छरी अन्न फलाइन । यसरी छरपोख गरी उब्जाएर खानु भन्दा अगाडि माङहरु(देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो भन्ने पाइन्छ । मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यीनै कथन अनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

  आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने(अन्धो बनाउने), कान दुखाउने(बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ । यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैंयू फुलेको छ । यसरी पैँयू फुलेको समयलाई  लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ । यहि समयमा हिमाली भागमा हिँउ पर्ने भएकोले उच्च पहाडि भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठहरु पनि तल बस्तितिर झारिन्ने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यीनै गाईगोठहरुलाई हिउँदो भरी खेतबारीमा मलजल गराई पुनः बैशाख महिनामा उकालो लगिईन्छ, जसलाई उभौली भन्ने गरिन्छ । जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृतिक पूजक लिम्बूहरुले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवताहरुसँग प्रार्थना गर्ने गर्छ । जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ । र यीनै देवीदेवताको आर्शिवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : १९:४७:५८ , १ वर्ष अगाडि