१५ युवा द्वारा ब्युटीपार्लर तालिम पूरा, व्यवसाय सुरु गर्न सामग्री सहयोग

निशा दाहाल , २०  पटक हेरिएको

पथरी, १७ असार । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ मा लघुउद्यम शाखाको आयोजनामा १५ जना युवाले ब्युटीपार्लर तालिम सफलतापूर्वक पूरा गरेका छन्। तालिममा सहभागीमध्ये बिनु दर्जी र भक्तरानी याखाले ब्युटीपार्लर खोल्ने उद्यमशीलता देखाउँदै नगरपालिकाबाट २० प्रतिशत साझेदारीमा आवश्यक सामग्री उपलब्ध गराइएको छ।

तालिम सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लोककिरण न्यौपानेले नवउद्यमीहरूलाई उज्ज्वल भविष्य र सफल व्यवसायको शुभकामना व्यक्त गर्दै आर्थिक एवं प्राविधिक सहयोगमा नगरपालिका सदैव तत्पर रहेको बताए। कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्षसहित अन्य कर्मचारीहरू पनि उपस्थित थिए।

नगरपालिकाले युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार बन्न प्रोत्साहित गर्दै, नवउद्यमीहरूलाई सहयोग गर्ने क्रममा सामाग्री हस्तान्तरण गरेको हो। यस पहलले स्थानीय युवालाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने दिशामा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।

तालिममा सहभागी युवाहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान र सीप सिकेर आत्मविश्वासी बनेको बताएका छन्। उनीहरूले व्यवसायबाट आर्थिक रुपमा स्वावलम्बी बन्ने र स्थानीय आर्थिक गतिविधिमा योगदान गर्ने लक्ष्य राखेका छन्।

यो कार्यक्रमले पथरी शनिश्चरे ४ मा युवाको सशक्तिकरण र समृद्धि तर्फ थप कदम चालिएको स्पष्ट गर्दछ।

प्रकाशित मिति: २०२५-०७-०१ , समय : २०:३५:३५ , ६ घन्टा अगाडि