वर्षाले तराई–मधेसमा किसानलाई राहत

ईनेपालपत्र , ३८२  पटक हेरिएको

देवरामप्रसाद यादव

सप्तरी,१२ भदौ। सप्तरीसहितका तराई–मधेसमा शनिबार बेलुकादेखिको वर्षाले राहत मिलेको छ । प्रचण्ड गर्मीबीच करिब साउन महिनादेखि वर्षा नभएपछि शनिबार बेलुकादेखि निरन्तर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । भदौ महिनाको वर्षा जिल्ला तथा तराई–मधेशवासीलाई अमृत बर्सेझैँ भएको छ ।

यस वर्षाले धानमा पानी पुगेपछि पहिलेको रोपो जाग्ने किसानलाई आशा जागेको हो । जिल्लामा भदौ शुरुवातमा शनिबार बेलुकादेखि पानी परेको हो ।

धान अब के होला भनेर आशा मारेका थियौँ, पछिल्लो वर्षाले फेरि आशा जगाएको भन्नुहुँदै, सप्तरीको महादेवा –१ का किसान राधे श्याम यादवले भन्नुभयो, ‘‘अब पानीले साथ दिएकाले रोपिएको धानलाई भने अमृत नै भएको छ ।’’

यो वर्षा तराई–मधेसका सबैजसो जिल्लामा भएको छ । यो पछिल्लो वर्षाले तालु फुट्लाजस्तो चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरन क्षेत्रमा सुकेका घाँसका झाम्टा अब पलाउने र गाईवस्तु चराउन पाइने पशुपालक किसानले खुशी व्यक्त गरेका छन् ।

कृषि ज्ञान केन्द्र, सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले ८० प्रतिशत खेतमा धान रोपाइँ भए पनि पानी ढिला पर्दा धानबाली उत्पादनमा कमी आउने बताउनुभयो ।

सप्तरीमा हाल ३५ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्कमा उल्लेख छ ।

गोरखापत्र बाट

प्रकाशित मिति: २०२२-०८-२९ , समय : ०५:५१:२० , २ वर्ष अगाडि