सत्तरी वर्षको उमेरमा २४ घण्टा काम ९ हजार तलव

Enepal Patra Pvt. Ltd. , २१७५  पटक हेरिएको

कानेपोखरी, ६ पुस । सरकारले २०७५ सालको साउन ३१ गते श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपियाँ तोक्यो । राजपत्रमा नै प्रकाशित गरेर पारिश्रमिक तोकिए पनि अधिकांश सरकारी कार्यालयका सहयोगीहरू सरकारले तोकेको भन्दा आधा तलवमा काम गर्न बाध्य छन् । मोरङको कानेपोखरी – ७ स्थित जनकल्याण माविका कार्यालय सहयोगी दाताराम भट्टराई सरकारले तोकेको भन्दा झण्डै आधा तलवमा काम गर्ने कर्मचारी मध्ये कै एक हुनुहुन्छ ।
३७ वर्षको उमेरमा २०४३ सालमा मासिक ३ सय रुपियाँ पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको काम सुरु गर्नु भएका भट्टराई अहिले ७० वर्षको हुनुभयो । दाँत खुस्किसके । कपाल फुलिसक्यो । पाखुरामा बल पनि छैन् । घण्टी ठोक्दा ठोक्दै कानको श्रवण शक्ति धुमिल भइसक्यो । उहाँलाई यतिबेला विद्यालयको जागिर ‘नखाउँ भने दिन भरिको शिकार,खाउ भने कान्छा बाबुको अनुहार, जस्तै भएको छ । हातमा अरु सीप छैन् । खेतीपातीको कमाईले घर धान्न गाह्रो छ । छोराहरू सबै आ–आफ्नो काम ब्यवसायमा ब्यस्त छन् । त्यसैले बुढेसकालमा पनि विद्यालयको घण्टी ठोकिरहेको उहाँले सुनाउनु भयो ।
जिल्ला शिक्षा कार्यालय मोरङले २०४८ पुस १ गते जागीर स्थायी त गरिदियो । तर सेवा निवृत भएपछि पेन्सन नपाउने गरी । उहाँले भन्नुभयो –पेन्सन पाउने थिएँ, भने ६० वर्ष पुगेपछि जागीर छाडिदिन्थे । तर,जागीर छोडेपछि यहि ७ हजार ५ सय पनि बन्द हुन्छ भनेर बुढेसकालमा पनि दुख गरिरहेको छु । त्यसो त उहाँ विद्यालयलाई दोहोरो सेवा दिनुहुन्छ । १० बजे देखि ४ बजे सम्म कार्यालय सहयोगी भएर काम गर्नुहुन्छ । १० बजे भन्दा अघि र ४ बजे भन्दा पछि उहाँ चौकीदारको भूमिका निर्वाह गर्नुहुन्छ ।
सरकारी कर्मचारी हुनुहुन्थ्यो भने यति बेला दीर्घसेवा गरे वापत धेरै सम्मान बटुलिसक्नु हुन्थ्यो होला । हाल सम्म ७ जना प्रधानाध्यापकको प्रशासनिक सहयोगी भएर काम गरिसक्नु भएका भट्टराई हालका प्रधानाध्यापक आठौं भएको बताउनु हुन्छ ।
छिमेकी गाउँ तथा नगरपालिकाले सरकारी विद्यालयमा काम गर्ने कर्मचारीलाई खाई पाई आएको तलवमा २५ प्रतिशत देखि शत प्रतिशत सम्म तलब वृद्धि गरिदिएका छन् ।तर,कानेपोखरी गाउँपालिकालाई बारम्बार समस्या राख्दा पनि सुनुवाई नभएको प्रधानाध्यापक पुष्प सुवेदीले बताउनु भयो । सुवेदीले गत वर्ष देखि महँगी भत्ता वापत मासिक १ हजार ५ सय रुपियाँ विद्यालयको आन्तरिक स्रोतबाट दिँदै आएको बताउनु भयो । उहाँले सरकारले नै स्थायी गरेको कर्मचारीलाई कम तलब पठाएको समेत बताउनु भयो ।
कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले स्रोत भएका विद्यालयले कर्मचारीलाई थपेर तलव दिइरहेको बताउनु भयो । तत्काल सरकारी विद्यालयका कर्मचारीहरूलाई तलव वृद्धि गर्ने कार्यक्रम नरहेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति: २०१९-१२-२२ , समय : ०८:४८:१२ , ४ वर्ष अगाडि