बैठकमा मेडिकल एशोसिएसनको असहमति, महासचिव शर्माले लेखे नोट अफ डिसेन्ट’

Enepal Patra Pvt. Ltd. , ५५२  पटक हेरिएको

काठमाडौ, ३० पुस । चिकित्सा शिक्षाका विषयमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार शिक्षा मन्त्रालयमा बोलाइएको सरोकारवालाहरुको बैठकमा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले असहमति जनाएको छ ।
बैठकमा सहभागि मेडिकल एशोसिएसनका महासचिव एवं काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बैठकका निणर्यप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट’ लेखेका हुन् । ‘निणर्य कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ को उपदफा (१) को खण्ड (क) ले व्यवस्था गरे अनुसार शुल्क निर्धारण बैज्ञानिक ढंगले नगरिएको हुँदा ऐनको मर्म र भावना अनुरुप शुल्क निर्धारण हुनुपर्छ,’ एशोसिएसनका महासचिव डा.शर्माले दर्ज गरेको फरक मतमा लेखिएको छ, यस शैक्षिक सत्रमा करिब बत्तीस हजार (करिब ८५ प्रतिशत) परीक्षार्थीहरु अनुत्तिर्ण भइ विभिन्न कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरुमा करिब चार हजार सिट रिक्त रहेको अवस्थालाई सम्बोधन गर्न तत्काल पुनः परीक्षा वा अन्य कुनै व्यवस्था गरी रिक्त रहेका सबै सिटहरु परिपूरण गर्न चिकित्सा शिक्षा आयोगले तत्काल पहल गर्नुपर्छ ।’
एमबीबीएस शुल्कका विषयमा विवाद बढ्दै गएपछि मन्त्रालयले समस्या समाधानका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा मेडिकल कलेजहरु, अभिभावक र विद्यार्थीहरुसहितको बैठक बोलाएको थियो । बैठकले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क शिक्षण संस्थाहरुले नलिने, छात्रावास सम्बन्धि समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभावक एवम् विद्यार्थीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने निणर्य गरेको शिक्षा मन्त्रालयका सहसचिव डा.हरिप्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गरेर जनाएका छन् ।
विज्ञप्तिमा आगामी शैक्षिक सत्रदेखि लागु हुँनेगरी शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउँनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्य चिकित्सा शिक्षा आयोगले प्रारम्भ गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरुपणका लागि छलफल एवं परामर्श गरी ऐन संशोधन गर्न सरकारलाई राय परामर्श दिने र चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रमहरुमा सिट रिक्त रहनेसमेतका बिषयलाई मध्यनजर गरी एकीकृत प्रवेश परीक्षा प्रणालीमा आयोगले संशोधन प्रकृया अघि बढाउँने पनि निणर्य भएको उल्लेख छ ।
तर, सोही बैठकका निणर्यमा असहमति जनाउँदै मेडिकल एशोसिएसनका महासचिव शर्माले नोट अफ डिसेन्ट’ लेखेका हुन् । यसअघि एशोसिएसनले विद्यार्थीहरुको शान्तिपूणर् आन्दोलनका नाममा मेडिकल कलेजहरुमा हिंसात्मक गतिविधि गरिएको भन्दै यस्तो कार्य नरोकिए देशभरका शिक्षण तथा अस्पताल सेवा ठप्प पार्ने चेतावनीसमेत दिइसकेको छ ।

प्रकाशित मिति: २०२२-०१-१५ , समय : ०७:५७:२६ , २ वर्ष अगाडि