हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

Enepal Patra Pvt. Ltd. , ४०५  पटक हेरिएको

जाजरकोट,९ पुस । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो ।

आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो ।

नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो । सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ ।

वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो । नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ । हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ ।

प्रकाशित मिति: २०२१-१२-२४ , समय : १०:५७:४८ , २ वर्ष अगाडि