जनचाहना सामुदायिक वनको साधारणसभा सम्पन्न, विपन्न परिवारलाई खाट वितरण

प्रशान्त निराैला , ३  पटक हेरिएको

लेटाङ , २० असोज । लेटाङ नगरपालिका–२ स्थित जनचाहना सामुदायिक वन उपभोक्ता समूहको २७ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष खगेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न साधारणसभामा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै विपन्न उपभोक्ता परिवारलाई खाट वितरण गरिएको छ ।

कार्यक्रममा खेलकुद तथा गायन क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्वहरू, सामुदायिक वनको क्षेत्रमा लामो समयदेखि क्रियाशील आनन्द सागर तिम्सिना तथा सामुदायिक वनका दिवंगत कर्मचारीका परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी, सामुदायिक वन उपभोक्ता समूहका विपन्न सदस्यहरूलाई एक–एक थान खाट वितरण गरिएको छ । समूहका अध्यक्ष खगेन्द्र नेपालका अनुसार समूहले सूचना जारी गरी निवेदन माग गरेपछि छनोट भएका विपन्न सदस्यहरूलाई साल र करमको काठबाट बनेका घाट वितरण गरिएको हो ।

साधारणसभामा अध्यक्ष नेपालले समूहले एक वर्षको अवधिमा गरेका विभिन्न गतिविधिबारे जानकारी गराउँदै आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययसहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले जनचाहना सामुदायिक वनका उपभोक्ताहरू समूहका पदाधिकारीप्रति सन्तुष्ट रहेको आफूले पाएको बताउनुभयो ।
उहाँले सामुदायिक वनहरूले विभिन्न कार्यक्रममा कर घटाउनुपर्ने विषय उठाउँदै आएको उल्लेख गर्दै माथिल्ला सरकारले यससम्बन्धी निर्णय नगरेसम्म नगरपालिकाले मात्रै केही गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

साधारणसभामा विभिन्न छिमेकी वन उपभोक्ता समूहका प्रतिनिधिहरु, शव डिभिजन वन कार्यालयका प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधि, वन उपभोक्ता महासंघका प्रतिनिधिहरु, जनचाहना सामुदायिक वनका पदाधिकारीहरु, उपभोक्ताहरु सहित उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा गायक सन्तोष राईले गीत प्रस्तुत गर्नुभएको थियो भने रक्षा ओझाले कविता र स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । समूहका उपाध्यक्ष गोपिलाल राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम समितिका सचिव शान्ता ढकालले सञ्चालन गर्नुभएको थियो ।
#morangkhabar #MorangNews #LetangMorang

प्रकाशित मिति: २०२६-१०-०५ , समय : १४:४५:०० , ४० मिनेटutes अगाडि