प्रशान्त निराैला , ४ पटक हेरिएको
लेटाङ २० असोज । लेटाङ नगरपालिका–६ गुवाबारीमा सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य केन्द्रले यसअघि नै स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आए पनि निर्माण सम्पन्न भएको नयाँ भवनको भने औपचारिक रूपमा उद्घाटन गरिएको हो।
स्वास्थ्य केन्द्रको उद्घाटन लेटाङ नगरपालिका–६ का वडा अध्यक्ष जंगवीर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा भवानी माखिम, यज्ञ खजुम, मिना श्रेष्ठ लिम्बूलगायत स्थानीय तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्थानीय तहको पहल तथा स्थानीयको सहयोगमा निर्माण भएको स्वास्थ्य केन्द्रको नयाँ भवनले गुवाबारी तथा आसपासका बासिन्दालाई स्वास्थ्य सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ। यसअघि सीमित पूर्वाधारमा सेवा सञ्चालन हुँदै आएकोमा नयाँ भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक वातावरण थप व्यवस्थित बनेको बताइएको छ।
स्वास्थ्य भवन निर्माणका लागि मिना श्रेष्ठ लिम्बूको परिवारले जग्गा दान गरेको हो। स्थानीयको सहयोग र योगदानबाट स्वास्थ्य केन्द्रको पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग पुगेको भन्दै कार्यक्रममा सहभागीहरूले स्थानीय सहयोगको प्रशंसा गरेका थिए।
कार्यक्रममा स्वास्थ्य केन्द्रबाट भइरहेको सेवा प्रवाहका विषयमा अनमी सावित्रा लकाईले जानकारी गराएकी थिइन्। उनका अनुसार स्वास्थ्य केन्द्रले स्थानीय बासिन्दालाई आवश्यक आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य केन्द्रबाट सामान्य स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा आवश्यक स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान हुँदै आएको छ।
स्वास्थ्य केन्द्रको उद्घाटनसम्बन्धी शिलालेखमा वडा सदस्यहरू श्यामकुमारी मगर, तिलकुमारी दर्जी, यमबहादुर तामाङ र प्रताप सिंह लावती तथा वडा सचिव रमेश खनालको नाम उल्लेख गरिएको छ। शिलालेखअनुसार स्वास्थ्य केन्द्रको औपचारिक उद्घाटन वि.सं. २०८३ साल असोज १९ गते गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष जंगवीर तामाङले स्वास्थ्य केन्द्र स्थापनाका लागि विगतमा गरिएको संघर्ष र प्रयासको स्मरण गर्दै यसको संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो। उहाँले स्वास्थ्य केन्द्र स्थानीय बासिन्दाको महत्वपूर्ण सम्पत्तिका रूपमा रहेकाले यसको भौतिक संरचना र सेवा दुवैलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो।
स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने स्थानीयको अपेक्षा छ। नयाँ भवनसँगै स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२६-१०-०५ , समय : १८:१५:३३ , ५७ मिनेटutes अगाडि