प्रशान्त निराैला , ८ पटक हेरिएको
लेटाङ, २० अशोज। लेटाङ नगरपालिका वडा नम्बर ४ मा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई वडास्तरमै सहज र प्रभावकारी रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्रको उद्घाटन लेटाङ–४ का कार्यवाहक वडाध्यक्ष रंगबहादुर राईले गर्नुभएको हो।
सिनियर अहेब पुण्य प्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लेटाङ–४ का कार्यवाहक वडाध्यक्ष रंगबहादुर राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा सदस्य चम्पा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेटाङ–४ का पूर्व वडाध्यक्ष रामकुमार श्रेष्ठले आफू नेतृत्वमा रहदा स्वास्थ सस्थाले गरेको कामको स्मरण गर्दै मन्तव्य राख्नुभएको थियो। पहिला देखिनै स्वास्थ्य केन्द्र संचालनमा रहेता पनी बिबिध कारण उद्घाटन बाकी रहेको पुर्बवडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष रंगबहादुर राईले आधारभूत स्वास्थ्य केन्द्रले वडाका नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउनुभयो। उहाँले स्वास्थ्य केन्द्रबाट सामान्य स्वास्थ्य समस्या, प्राथमिक उपचार, स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्य परामर्शजस्ता सेवा स्थानीयस्तरमै उपलब्ध भइरहेकाले नागरिकलाई ठूलो सहजता भएको उल्लेख गर्नुभयो।
राईले आधारभूत स्वास्थ्य केन्द्रले नागरिकको स्वास्थ्यका लागि महत्वपूर्ण काम गरिरहेको बताउँदै स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने अवस्थालाई समेत केही हदसम्म कम गरेको धारणा व्यक्त गर्नुभयो। स्थानीय नागरिकको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य केन्द्रको सेवा अझ प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजान आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले स्वास्थ्य क्षेत्रमा स्थानीय तहबाट आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास निरन्तर जारी रहने बताउनुभयो।
स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै लेटाङ–४ का नागरिकले आफ्नै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्। यसबाट सामान्य स्वास्थ्य समस्या तथा प्राथमिक उपचारका लागि टाढाका स्वास्थ्य संस्था वा अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। शिलालेखमा लेटाङ नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष रंगबहादुर राईबाट आधारभूत स्वास्थ्य चौकी उद्घाटन सम्पन्न भएको उल्लेख गरिएको छ। शिलालेखमा वडा सदस्य चम्पा थापा मगर र वडा सचिव विशाल रिजालको नामसमेत उल्लेख छ। उद्घाटन २०८३ साल असोज १९ गते गरिएको उल्लेख गरिएको छ।
प्रकाशित मिति: २०२६-१०-०५ , समय : १८:१६:५१ , ५५ मिनेटutes अगाडि