प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता : खार्तुम

Enepal Patra Pvt. Ltd. , ३०७  पटक हेरिएको

काठमान्डाै, २२ कात्तिक । सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कू’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ । यहाँ गत महिना सैनिक कू भएको भनिएलगत्तै यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई यहाँका सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए । यहाँका सैनिक प्रमुख अब्देल फताह अद बुर्दानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको कुरा आइतबार बताउनुभएको छ । अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उहाँले सो कुरा बताउनुभएको हो । उहाँले आफूले यहाँका राजनीतिक दलहरुलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको सो प्रतिनिधिमण्डलसँग बताउनुभएको थियो ।

अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उहाँलाई भेट्न आइतबार गएको थियो । अरब लिगले यसअघि पनि उहाँलाई सत्ता त्याग्न आग्रह गरेको थियो । आइतबार गएको सो प्रतिनिधिमण्डललाई उक्त कुरा बताएको महासचिव जाकीले जानकारी दिनुभएको हो । यहाँ सेनाले अहिलेसम्म केही प्रतिक्रिया नदिएपछि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । केही समययतादेखि यहाँ आन्दोलन जारी रहेको छ ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा असहज सम्बन्ध रही आएको बताइएको थियो ।(रासस/सिन्ह्वा)

प्रकाशित मिति: २०२१-११-०८ , समय : १२:४०:४४ , ३ वर्ष अगाडि