फ्रान्स र स्पेनको डढेलोवाट २ लाख ५० हजार मानिस बिस्थापित

Enepal Patra Pvt. Ltd. , ४  पटक हेरिएको

पेरिस, १० साउन । दक्षिण पश्चिम फ्रान्समा तीव्र हावाका कारण आगोको लप्का बोर्डो सहरतर्फ बढिरहेकाले दमकलकर्मीहरूलाई डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।

 

आगो नियन्त्रणका लागि लागि परेका एक अधिकारीका अनुसार उनीहरू आगोलाई नियन्त्रणमा लिन सक्ने अवस्थाबाट अझै धेरै टाढा रहेको र डढेलो नियन्त्रण भन्दा बाहिर रहेको जनाएका छन् । फ्रान्स र स्पेनमा केही दिन फैलिएको डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका वीवीसीले जनाएको छ ।

 

हावा र उच्च तापक्रमले आगो नियन्त्रणको प्रयासमा बाधा पुर्‍याइरहेको उनीहरूको भनाइ रहेको छ। गएराति बोर्डोको पश्चिममा रहेका ७ वटा सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो। आपतकालीन अवस्था घोषणा गरिए पछि स्पेनमा मौसममा आएको परिवर्तनले म्याड्रिड बाहिर खटिएका दमकलकर्मीहरूलाई भने केही राहत पुर्‍याएको छ।

 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी समय थप जटिल हुने स्वीकार गरेका छन्। यसैबीच, भ्यालेन्सियाका अधिकारीहरूले डढेलोमा परी एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार, मनिसेसस्थित ‘साल्ट डे ला आइगुआ’ खोल्सामा लागेको आगो निभाउने क्रममा दमकलकर्मीहरूले ७० वर्षको हाराहारीमा रहेका ती व्यक्तिलाई कारभित्र मृत अवस्थामा फेला पारेका थिए।

 

फ्रान्समा, दक्षिण पश्चिमी क्षेत्रहरू जिरोन्ड र ल्यान्ड्सबाट करिब २ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 

फ्रान्सले डढेलो नियन्त्रणको प्रयासमा सघाउन सेना परिचालन गरिएको छ भने झाडी सफा गर्ने र ‘फायर ब्रेक’ अर्थात आगो फैलिन नदिने खाली ठाउँ निर्माण गर्ने कार्यमा दमकलकर्मीहरूलाई सहयोग गर्न सेनाबाट थप टोलीहरू पठाइएका छन्।

 

शनिबार बिहानसम्म डढेलो बोर्दो सहरबाट करिब ४० देखि ५० किलोमिटरको दूरीमा थियो। तैपनि, तिब्र हावाले धुवाँलाई सहरतर्फ धकेलिरहेको थियो र मानिसहरूले हावामा तीखो गन्ध महसुस गरिरहेका थिए । बोर्दो नजिकै फैलिँदै आएको डढेलोबाट परिवारसहित भागेका एक पर्यटकले आगोको विकराल रूपलाई डरलाग्दो भनेर वर्णन गरेका छन् ।

प्रकाशित मिति: २०२६-०७-२६ , समय : ११:०२:३७ , १ घन्टा अगाडि