कान्छा मृत्यु प्रकरण : मृत्युको कारण झुण्डिएर

Enepal Patra Pvt. Ltd. , ३५३  पटक हेरिएको

विराटनगर, ३१ चैत । विराटनगर महानगरपालिका – १९ धनपुरामा मृत अबस्थामा फेला परेका कान्छा भनिने नितेश राईको मृत्युका कारण झुण्डिएर भएको प्रहरीले जनाएको छ । पोष्टमार्डम रिर्पोटमा मृत्यु हुनुको कारण झुण्डिएर भन्ने उल्लेख भएको जनाउँदै भिसेरा रिर्पोटमा समेत बिषादीको प्रयोग नभएको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले मृतकको परिवारलाई समेत यस बिषयमा जानकारी दिएको बताए । उनले विराटपथसँग भने,‘कज अफ डेथ डु टु ह्याङगिङ अर्थात मृत्युको कारण झुण्डिएर भन्ने पोष्टमार्डम रिर्पोटले देखाएको छ । यस अर्थ उनको झुण्डिएर मृत्यु भएको हो भन्ने बुझ्न सकिन्छ ।’
चैत्र ६ गते विहान ३८ बर्षिय कान्छा भनिने नितेशको धनपुरास्थित एक रुखको मुनि घोप्टो परेको अबस्था शव फेला परेको थियो । चैत्र ५ गते बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका उनको भोलिपल्ट शंकास्पद अबस्थामा शव फेला परेपछि आफन्तले उनको हत्या भएको आरोप लगाउँदै आएका थिए । विराटनगर – ३ आयल निगम छेउ घर भएका राई बिहिबार साँझ ६ स् ३० बजे आफ्नै स्कुटर लिएर धनपुरामा साथीहरुसँग भेट्न जान्छु हिडेका थिए । उनको शव धनपुराको एक खेतको बीच भागमा रहेको पिपलको रुखको मुनि अनुहारमा चोट लागेको अबस्था भेटिएको थियो ।
मोरङ प्रहरीका डिएसपी तथा प्रवक्ता मानवहादुर राईले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको बिधि बिज्ञान प्रयोगशालामा गरिएको भिसेरा परिक्षणमा समेत कुनैपनि प्रकारको बिषादीको प्रयोग गरेको वा गराइएको नभेटिएको बताए । भिसेरा परिक्षणमा मृतकलाई बिषको प्रयोग गराइएको छ कि छैन भनेर परिक्षण गर्ने गरिन्छ । उनको पोष्टमार्डम भने कोशी अस्पतालमा गरिएको थियो । कोशी अस्पतालका डा। दिक्षान्त पोखरेलले मृतकको पोष्टमार्डम गरेका थिए ।
तनावमा थिए, कान्छा
झुण्डिएर मृत्यु भएको पुष्टि भएपनि उनको हत्या हो वा आत्महत्या प्रहरीले प्रष्ट बताएको छैन । तर आर्थिक कारणले गर्दा उनी अत्याधिक तनाव रहेको प्रहरीको भनाई छ । ‘हामीले सुक्ष्म रुपमा परिवार र उनका नजिकका साथीभाईसँग पनि सोधपुछ गर्यौ । आर्थिक कारणले गर्दा उनी डिप्रेसनमा रहेको भन्ने हाम्रो बुझाई रह्यो ।’ प्रवक्ता राई विराटपथसँग भने, ‘आफु बस्दै आएको घर जमीनपनि लिलामीमा निस्किएको रहेछ । मृतकको आमाको नाममा रहेको एक बिगाहा जमीनपनि बिक्री गरिएको रहेछ । यो कारण उनी ज्यादै मानसिक तनाव रहेको भन्ने बुझेका छौ ।’

प्रकाशित मिति: २०२१-०४-१३ , समय : १५:००:१४ , ३ वर्ष अगाडि