इन्द्रपुर खानेपानीलाई नगर विकासको ध्यानाकर्षण पत्र,अविलम्व साधारणसभा गर्न निर्देशन

Enepal Patra Pvt. Ltd. , ७४२  पटक हेरिएको

हरिप्रसाद कोइराला,
सुन्दरहरैचा (मोरङ), ३० चैत । नगर विकास कोषले मोरङको सुन्दरहरैचा–१० स्थित इन्द्रपुर साना सहकारी खोपानी तथा सरसफाई उपभोक्ता संस्थालाई लेखापरीक्षण गरी यथासक्य चाँडो साधारण सभा गर्न निर्देशन दिएको छ । स्थापनाकाल देखि हालसम्म साधारण सभा नभएको भन्दै कोषले अबिलम्व साधारणसभा गर्न निर्देशन दिएको हो ।
कोषले चैत २४ गते पत्र लेखेर स्थापनाकालदेखि हालसम्म साधारण सभा र अधिवेशन हुन नसकेको अवस्थामा कोषको ध्यानाकर्षण भएको जनाएको छ । पत्रमा पटकपटक लेखापरीक्षण र साधारण सभा गर्न पत्राचार गर्दा पनि बेवास्ता गर्नुको कारण समेत उल्लेख गर्न भनिएको छ ।
२०६२ सालमा स्थानीय उपभोक्ताले कूल लागतको ५ प्रतिशत रकम जम्मा गरेर इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गठन गरेका थिए । नगर विकास कोषको ऋण सहयोगमा आयोजना २०७२ मा सम्पन्न भएको हो । तत्कालिन इन्द्रपुर गाविसका उपभोक्तालाई खानेपानी वितरणका लागि गठित आयोजनाले पानी वितरण गरेको ५ वर्ष पूरा भयो । तर त्यस यता न त संस्थाको लेखापरीक्षण भएको छ न त साधारण सभा नै भएको छ । खानेपानी आयोजनाका अध्यक्ष केदार गुरागाँईले संस्थाको लाखौं रकम हिनामिना गरेको स्थानीयका आरोप छ । धाराबाट पानी वितरण गरेको ५ वर्ष भयो । ६ हजार उपभोक्ताले तिरेको रकमको हिसाव किताब छैन् । लेखा परीक्षण भएको छैन् । साधारण सभा गरेर नेतृत्व हस्तान्तरण गर्नु पर्ने कुरा उठ्न थालेको ५ वर्षभयो । तर, अध्यक्ष गुरागाई लेखापरीक्षण गरेर साधारणसभा गर्ने मनस्थितिमा देखिनु भएको छैन् । स्थानीयले गुरागाईले लाखौं रुपियाँ अनियमितता गरेकोले साधारणसभा बोलाउन आलटाल गरेको आरोप समेत लगाएका छन् । तत्कालिन अवस्थामा सर्वपक्षीय समिति गठन गरिएको भए पनि अहिले अध्यक्ष बाहेकका पदाधिकारी र सदस्यहरू कार्यालय पुग्दैनन् । गुरागाईकै खेलोमेलो छ । हामी किन जानु ? एक सदस्यले भने ।
तदर्थ समितिले भर्ति गरेका कर्मचारीको नियुक्तिमा पनि प्रश्न उठ्न थालेको छ । हरेक वर्ष करोडौंको आर्थिक कारोवार हुने खानेपानी आयोजनालाई गुरागाँईले प्राइभेट लिमिटेड जसरी सञ्चालन गरेको असन्तुष्ठ सदस्यहरूको भनाई छ ।
यता संस्थाका अध्यक्ष केदार गुरागाइँले हरेक आर्थिक वर्षमा लेखापरीक्षण गरिएको दावी गर्नुभयो । साधारण सभा गर्न भने नसकिएको उहाँको भनाई छ । उहाँले २०७८ को जेठ पहिलो साता साधारण सभा गर्ने तयारी भइरहेको बताउनु भयो । अध्यक्ष गुरागाइँले भन्नुभयो– १२ करोड नगर विकास कोषको ऋण छ, यो ऋण तिर्ने दायित्व हामी सबैको हो । तर, संस्थाका सचिव मित्रसेन योञ्जनले सर्वदलीय संरचनामा संस्था गठन भए पनि हाल सम्म अध्यक्षले बैठक नबोलाएको बताउनुभयो । अध्यक्षले एकलौटी ढंगबाट संस्था चलाउँदा संस्थामा भ्रष्टाचार भएको विषय बाहिर आयो । हामीले अध्यक्षलाई सोध्यौँ तर अध्यक्षले जवाफ नदिएपछि बैठकमा जान छोडेको सचिव योञ्जनको भनाई छ ।
उता, सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले नगर विकास कोषले २०७७ चैत २४ गते नगरपालिकालाई पनि पत्र पठाएर साधारण सभाका लागि समन्वय गर्न अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो– स्वायत्त संस्थालाई हामीले हस्तक्षेप गर्न मिल्दैन । तर, बेलामा लेखा परिक्षण गरेर साधारणसभा गर्नु हरेक संस्थाको नियमित काम हो । नियमित काम पनि गर्न नसक्नु नेतृत्वको कमजोरी हो ।
२४ करोड रुपैयाँको लागतमा निर्माण भएको आयोजनाले ४ लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्कीबाट दैनिक पानी वितरण गरिरहेको छ । ६ हजार ५ सय उपभोक्ता रहेको खानेपानी आयोजनालाई एसियाली विकास बैंकले सहयोग गरेको छ ।

प्रकाशित मिति: २०२१-०४-१२ , समय : ०८:३७:४९ , ३ वर्ष अगाडि