नेपालमा रहेका शरणार्थी चिन्तित

वृद्धवृद्धा, एकल, अशक्त, अपांगता भएकाको औषधोपचार र हेरविचारमा समस्या

Enepal Patra Pvt. Ltd. , ७५८  पटक हेरिएको

अर्जुन राजवंशी
बिर्तामोड २९ माघ । बेला–बेलामा जंगली हात्ती पस्छन् र छाप्रा भत्काउँछन् । सुक्खा समय भएकाले आगलागीका घटना पनि भइरहन्छन् । वृद्धवृद्धा, एकल, अशक्त र बिरामीको कन्तबिजोग छ । झापा र मोरङका भुटानी शरणार्थी शिविरमा यी नयाँ समस्या होइनन् । तर पुस १७ यता अवस्था फरक छ । दमक–३ बेलडाँगी र पथरी शनिश्चरे–१० शनिश्चरेस्थित शिविरमा बाँकी रहेका शरणार्थी चिन्तित र हतास देखिन्छन् । उनीहरूलाई संरक्षण गर्दै आएको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) को दमकस्थित कार्यालय पूर्णरूपमा बन्द भएको छ । गत डिसेम्बरदेखि दमकको उक्त कार्यालय बन्द भएको हो । आफूहरूका लागि गाँस, बास र कपासको व्यवस्था गर्दै आएको कार्यालय नै बन्द भएपछि शरणार्थी हतास देखिएका हुन् । अहिले उनीहरूले गुनासो पोख्ने निकाय छैन । शरणार्थीले दातृ निकायबाट पाउने गरेका सबैखाले सहयोग पनि बन्द भएको छ ।
२८ वर्षदेखि भुटानी शरणार्थी नेपालमा छन् । यतिबेला उनीहरूको संख्या दुवै शिविरमा गरी ६ हजार ५ सय हाराहारी छ । उनीहरू भुटान फर्किने, नेपालमै बसोबास गर्ने वा तेस्रो देश पुनर्वास हुने भन्नेमा अन्योल छ । ‘कुनै निर्णय नै नदिई संरक्षण गर्दै आएको यूएनएचसीआरको दमक कार्यालय बन्द भएपछि अब के हुने भन्ने अन्योल छ,’ बेलडाँगी शिविरका सचिव कृष्णबहादुर लिङ्देनले भने ।

अब भोकभोकै पर्ने अवस्था आएको पूर्वशिविर सचिव डीबी सुब्बाले बताए । दातृ संस्थाका कार्यालयहरू बन्द भएपछि बेलडाँगी शिविरमा मात्र करिब २ सय परिवार छाप्रोमा टालटुल गरेर बस्न बाध्य भएको उनको भनाइ छ । ‘दातृ संस्थाहरूले कुनै टुंगो नै नलगाई हामीलाई अलपत्र छाडेर गए,’ सुब्बाले भने, ‘यूएनएचसीआर थियो र, हामी उसको संरक्षणमा छौं भन्ने थियो । दमकबाट कार्यालय गएपछि अब त्यो अवस्था रहेन । जिम्मेवारी नेपाल सरकारले लिइसकेको छैन ।’ भुटानबाट लखेटिएका नेपालीभाषी भुटानीहरू सन् १९९० को दशकमा नेपाल भित्रिएका थिए । यूएनएचसीआरको नेतृत्वमा विश्व खाद्य कार्यक्रम, लुथरन विश्व फेडेरेसन, कारितास र आईओएमलगायतका संस्थाहरूले उनीहरूलाई आवास, खाद्य, शिक्षा र स्वास्थ्यका लागि सहयोग गरेका थिए । दातृ संस्थाका दमकस्थित सबै कार्यालयहरू क्रमशः बन्द भएका छन् ।

पूर्वी नाका काँकडभिट्टाबाट करिब एक लाख नेपालीभाषी भुटानी नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई स्वदेश फर्काउने विषयमा नेपाल र भुटानबीच १५ औं चरणसम्म वार्ता भए पनि सहमति भएन । शरणार्थीहरूको दीर्घकालीन समाधानअन्तर्गत सन् २००८ देखि युरोप र अमेरिका गरी ८ वटा पश्चिमा मुलुकमा पुनर्वास कार्यक्रम सुरु गरिएको थियो । सन् २०१६ को डिसेम्बरसम्म १ लाख १३ हजार बढी भुटानी अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका देशमा पुनर्वास भएका छन् । अब शिविरमा पुनर्वासमा छुटेका वृद्धवृद्धा, एकल, अशक्त, अपांगता भएकाहरू छन् ।

प्रकाशित मिति: २०२१-०२-११ , समय : ०५:४७:१८ , ३ वर्ष अगाडि